काठमाडौं । पूर्वअर्थमन्त्री डा।प्रकाशशरण महतले भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनु पर्नेमा जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
उनले भन्सार प्रशासन प्रभावकारी,राजश्व पनि वृद्धि ,व्यवसायीहरुलाई अनावश्यक भन्सार प्रक्रियाको झमेलामा नपर्ने र भन्सार छलीलाई रोक्ने गरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गरे। उनले भन्सार ऐनलाई अन्तर्राष्ट्रिय रुपमा भन्सार नीति र नियमनमा परिमार्जन भएका नीतिहरु अनुरुप नेपालको भन्सार ऐनमा परिमार्जजित गरी भन्सार सम्बन्धि कानून ल्याउनुपर्ने बताए ।
उनले कति वस्तुमा भन्सार लगाउने वा भन्सार नलगाउने विषय ऐनमा समावेश गर्न नहुने जानकारी दिए । उनले यो विषय सरकारले बजेटमा कर निर्धारण गर्ने समयमा राख्ने विषय भएको बताए । उनले भन्सार व्यवस्थापन पारदर्शी र प्रविधिमैत्री बनाउने कुरामा प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले भन्सार प्रविधिलाई भौतिक रुपमा मानिस उपस्थित भएर गर्ने विगतको पद्धतिको अन्त्य गर्न जरुरी रहेको बताए ।
उनले अर्थ मन्त्रालयले आन्तरिक रुपमा भन्सार प्रणालीलाई थप सहज र प्रभावकारी बनाउन सुधारको आवश्यकता पहिचान गरी ऐनमा व्यवस्था गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्