काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए ।
एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ ।
विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले चलचित्रको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छन् । एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले चलचित्रको ‘थ्रिलिङ’ भागलाई उजागर गरेको छ ।
पोस्टरको शीर्ष भागमा रहेका अभिनेता प्रदिप खड्का चलचित्रको मुख्य केन्द्रबिन्दु रहेको प्रस्ट हुन्छ । मुख्य पात्रको चोट लागेको अनुहारले यस चलचित्रको कथाको चुनौतीपूर्ण पक्षलाई सङ्केत गर्छ र सिगार समातेको कोइरालाको चरित्रले कथामा शक्तिको खेल रहेको सङ्केत गर्छ ।
यस अघि यो चलचित्रको टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको थियो । यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् ।
दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।
यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कला कारहरूको प्रमुख भूमिका रहेको छ ।
अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनिश भुसाल रहेका छन् ।चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।
सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्