काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् ।
सोमबार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा आयोजना गरेको च्याउ महोत्सवमा उनले यस्तो बताएका हुन् । उनले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ कार्य अघि बढिसकेको बताउँदै उक्त केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।
उनले च्याउ खेतिबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने बताए ।
च्याउको गुणस्तरीय बीउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको उल्लेख गर्दै स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
उनले च्याउ खेतिको सुदृढिकरणका लागि सरकार, निजी क्षेत्र र किसानहरुको संयुक्त प्रयास आवश्यक रहेको समेत बताउँदै भने, ‘नेपालमा व्यवसायिक रुपमा कन्ने, सिपारे, पराले, ज्ञानु, डर्मा लगायतका च्याउहरुको खेति भइरहेको छ । ४० डिग्रीको तापक्रममा उत्पादन गर्न सकिने दुधे च्याउ प्रविधिको विकास भएर व्यवसायिक खेती शुरु भइरहेको छ । यसका अलावा च्याउमा रोग किरा व्यवस्थापन, निर्मलिकरण, बीउका लागि समेत आवश्यक अनुसन्धान भइ प्रविधिहरु आइसकेको छ ।’
‘काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भई कार्य अगाडि बढेको छ । उक्त स्रोत केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा पनि आत्मनिर्भर हुने मैले विश्वास लिएको छु । च्याउ खेतीबाट किसानहरुको आयआर्जन बढाउन पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना पनि बढाउन सक्छ । तर यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक छ’ उनले भने ।
काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा विभिन्न ४० वटा स्टलहरु रहेका छन् । मेलाले किसानलाई च्याउखेतीतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्