काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताउँदै खेलकुदमा युवाहरु बढी हुने भएकाले काँग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए ।
उनले खेलकुद स्वस्थ शरीरका लागि महत्त्वपूर्ण रहेको बताउँदे ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने जनाए ।
सभापति देउवाले भने, ‘खेलकुद जगत अत्यन्तै महत्त्वपूर्ण जगत हो । एउटा भनाइ छ, स्वस्थ शरीरमा स्वस्थ दिमाग रहन्छ । खेलकुद स्वयं स्वस्थ शरीरका लागि अत्यन्त आवश्यक छ । खेलकुमा लागेका साथीहरुको लागि अहिले केही कुरा उठेका छन्, ओलम्पिकको सन्दर्भमा रुक्मसमशेर राणाहरुको कमिटी थियो । त्यसलाई सर्वोच्च अदालतले मान्यता दिइसकेपछि, सर्वोच्च अदालतबाट तोकेपछि, सर्वोच्च अदालतले मानिसकेपछि त्यसलाई हामी लागू गर्नुपर्दछ ।’
सभापति देउवाले खेलकुद जगतलाई नेपाली काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्