काठमाडौं । नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताएका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरु कन्भिन्स हुन नसकेको बताएका हुन् ।
उनले युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छोडेको बताउँदै युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको जनाए ।
उनले पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृति बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको उल्लेख गरे । उनले संविधानको ९ वर्षको अभ्यासको समिक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धी गर्यौं । यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ । आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ । तर हरेक दिन दुई हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन् । कन्भिन्स छैन । सबैकुरा राम्रो हुँदाहुँदै पनि उसले आफ्नो भविष्य सुरिक्षत देखिरहेको छैन । अहिलेको युवा प्लेनमा उड्न पाउँदा आफूलाई सुरक्षित महशुस गरिरहेको छ ।’
उनले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । पत्रकारिता क्षेत्रले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान दिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनहोस्