काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार ०८४ सम्म नढल्ने दाबी गरेका छन् । २०८४ सम्म एक जना प्रधानमन्त्री मात्रै परिवर्तन हुने भन्दै महामन्त्री थापाले सरकार सजिलैसँग अघि बढ्ने बताएका हुन् ।
सरकार गठनको बेला नेपाली काँग्रेस र नेकपा एमालेबिच संविधान संशोधन गर्ने सहमतिका साथ अघि बढेको भन्दै महामन्त्री थापाले अबको केहि दिनमै संविधान संशोधनको सयुक्त संयन्त्र बन्ने दाबी गरेका हुन् ।
आईतवार काठमाडौंमा नेपाली काँग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर पालिका वडा नम्बर ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने महामन्त्री थापाको भनाई छ । संयन्त्रले शुरुमा काँग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुनेछ । एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने महामन्त्री थापाले धारणा राखे ।
संसदलाई समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने उनको दाबी छ ।
उनले भने, ‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । यसलाई पनि सम्हाल्छौँ । धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं । किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन । माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं । दलहरुको बीचमा समझदारी बनाउँछौँ । न्युनतम कुराहरु संशोधन गर्छौं । संसद समावेशी छ, अभmै यो भन्दा बढी समावेशी बनाउने हो । क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो । सँगै एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरु छन्, जुन कुरामा हामी संविधान संशोधन गर्नेकुरामा प्रवेश गर्दछौँ । छलफल गर्छौं तर सम्हालेर गर्छौं ।’
महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरुको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बनाउनु पर्नेमा जोड दिए ।
उनले थपे, ‘२०८४ को चुनाव छ । सबै राजनीतिक पार्टीहरुले ०८४ को चुनाव गरिरहेका छन् । ०८४ को कुरा गर्नु नै पर्छ । सोच्नु पनि पर्छ, पार्टी संगठनको हिसावले । तर २०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन । सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ । मैले यो यो गरेँ भनेर अर्को चुनावमा भन्न जान्छ । सरकार भन्दा बाहिर बसेको पार्टीले म भएको भए तिमी भन्दा राम्रो गर्थें भन्छ वा म आउँदै गर्दा अब विकल्पमा यो गर्छु भन्छ । नेपालमा त पछिल्ला तीन चार वटा चुनावमा हेर्यौँ भने प्रत्येक निर्वाचनमा जाँदै गर्दा त्यो निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति कोही पनि छैन । किनभने हामी सबै गठबन्धनमा छौं । मिसमास छ । सरकार यति धेरै परिवर्तन भएको छ, भत्किएको छ । २०७९ सालको चुनावमा नेकपा एमाले पनि गयो, काँग्रेस पनि गयो, माओवादी गयो । मिलेर चुनाव लड्यो । यि सबै कुराको बीचमा हामी सबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ । सबैले ५ वर्ष बर्बाद भयो, अब म राम्रो गर्छु भन्यौँ, ५ वर्षको जिम्मा लिने कोही भएन । तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन । जिम्मा लिनुपर्छ । कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ । यो तीन वर्षमा ०८४ मा योयो गर्यौँ भन्ने हैसियत बनाएर जानुपर्छ । अब हामीले जिम्मा लिएर जानुपर्छ । यो सरकारको धेरै फेरबदल, यत्ता उत्ता एड्भेन्चर गर्ने, यो धेरै चकचक गर्ने, यो च्याप्टर बन्द गर्नुपर्छ । काँग्रेस एमाले मिलेर जानेकुरा त्यति युजियल कुरा होइन, एउटा परिस्थितिले सिर्जना गर्यो तर यसलाई हामीले अब अवसरको रुपमा लिनुपर्छ । २०८४ सालसम्म सरकार जम्मा एक पटक बदलिन्छ, त्यो सरकार बदलिँदै गर्दा प्रधानमन्त्री बदलिनुहुन्छ, अहिलेको समझदारीअनुसार । त्यसपछि यो ०८४ सालसम्म स्मोथली जान्छ । हामी सरकार चलाउँछौँ । २०८४ को चुनावमा नेपाली काँग्रेस पार्टी देशभरी १६५ निर्वाचन क्षेत्रमा, प्रदेशमा ३३० स्थानमा, सबै नगरपालिका, वडामा एक्लै चुनाव लड्छ, चुनावको परिणाम जेसुकै आउँछ ।’
प्रतिक्रिया दिनुहोस्