Shikhar Insurance
National Life

‘बैंकहरुलाई खराब कर्जा र तरलता व्यवस्थापन मुख्य चुनौती’

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौति बनेको छ । ऋण असुलीमा पनि ठूलो चुनौति देखिएको छ ।

ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैंकहरुबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ । बैंकहरुले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरुको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरुको एनपीए पछिल्लो समय अधिकांश बैंकहरुको ४ प्रतिशत माथि पुगेको छ । बैंकहरुमा एनपीए वृद्धि हुँदै जानु बैंकहरुको लागि ठूलो चुनौति हो । यसले अझ खराब कर्जा वृद्धि गर्ने,ऋण असुलीमा समस्या हुनसक्छ ।

अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैंकिङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैंकहरुले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन् । ब्याजदर निकै न्युन हुँदा पनि असुलीमा सुधार हुन सकेको छैन ।

बैंकहरुको निक्षेप बढ्दा कर्जाको माग न्युन छ । बैंकहरुमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो । बैंकहरुको निष्क्रिय कर्जा उच्च रुपमा बढ्दै जाँदा त्यसको असर गैरबैंकिङ सम्पतीमा परेको बैंकर्सहरुको भनाई छ । अर्थतन्त्रमा छाएको संकुचनको असर बैंकहरूको रिकभरीमा पर्नसक्ने चिन्ता पनि उत्तिकै देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा ३.४० प्रतिशत रहेको छ । आर्थिक २०७९/८० को पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा १.६६ प्रतिशत रहेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको खराब कर्जा १०३ प्रतिशतले बढेको देखिन्छ ।

७ खर्ब बढी लगानीयोग्य रकम तर बजारमा छैन कर्जाको माग

कर्जाको ब्याजदर एकल बिन्दुमा झरेपनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औषत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ ।

पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटेपनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन् । चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन ।

अहिले बैंकहरुमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैंकहरुलाई यति बेला खराकर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौति देखिएको छ । बैंकहरुमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरुमा समस्या आउनसक्ने बैंकर्सहरुले बताएका छन् ।

उनीहरुले नेपालको बैंक तथा वित्तीय क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै पछिल्लो समय बैंकहरुमा थुप्रिएको ७ खर्ब रकम व्यवस्थापन गर्न नसके आगामी दिन झनै बैंकहरुलाई अफ्ठ्यारो पर्ने बताएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि बेवास्था गरेको उनीहरुको भनाई छ ।

पछिल्लो बैंकहरु चुनौतिपूर्ण अवस्थामा कठिन रुपमा बाँचिरहेको बैंकरहरुले बताए । बैंकहरुमा देखिएको चुनौति समाधानको लागि तरलता व्यवस्थापनको वातावरण राष्ट्र बैंकले गर्न आवश्यक देखिएको उल्लेख गरे ।

बैंकर्सहरुले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको आरोप लगाए । बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैंकहरु समस्यामा परेको बैंकर्सहरुको भनाई थियो ।

नेपाल बैंकर्स संघका नि:र्वतमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको बताए।

उनले बैंकहरुमा तरलतामा देखिएको असमानताले पनि बैकहरुमा समस्या पारेको दाबी गरे । उनले अहिले बैंकहरुमा सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेको बताए ।

उनले भने, ‘नेपाली बैंकिङ क्षेत्रको चार दशकको यात्रामा सम्भवत: बैंकिङ क्षेत्र आजको दिनमा चुनौतिपूर्ण अवस्थामा उभिएको छ । विशेषगरी आर्थिक गतिविधि अवस्थाको इनब्यालेन्स र लगातार अस्थिर राजनीतिको कारणले मुलुकमा अर्थतन्त्र स्लोडाउन,आर्थिक वृद्धि न्युन हुने र कर्जाको माग घट्दै जाँदा चुनौतिपूर्ण समय छौं । बैंकहरुमा मुख्य रुपमा तीन समस्या देखेका छौं ।’

उनले बैंकहरुमा बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुने अवस्थाले आगामी दिनमा बैंकहरुमा थप समस्या निम्त्याउने जोखिम देखिएको बताए । उनले अस्थिर राजनीति, अर्थतन्त्रमा आएको सिथिलता,वाह्य दबाब, कर्मचारी बाहिरिने तथा विदेश पलायन जस्ता समस्याले बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखापरेको बताए । उनले यस्ता समस्याको कारणले बैंकहरुको रिटर्न अन इक्विटी घटेर ९ प्रतिशतको हाराहारीमा पुगेको बताए ।

उनले भने, ‘समय–समयमा देखिने तरलताको अवस्था छ । जुन धेरै हुने र कहिले थोरै हुने अवस्था हुँदा बैंकहरुलाई चुनौति रहेको बुझेका छौं । बैंकहरुले अहिले ७ सय अर्बको तरलता लिएर बसेका छौं । जुन रकमको व्यवस्थापन गर्न नसक्दा भोलिको दिनमा थप जोखिममा पुग्ने अवस्था देखिरहेका छौं ।’

उनले चालु आर्थिक वर्षको चार महिनाको रिपोर्ट हेर्दा बैंकहरुको ४ प्रतिशत माथि खराब कर्जा पुगेको बताउँदै दक्षिण एशियाका मुलुकहरु हेर्दा एनपीएमा नेपाल राम्रो अवस्थामा जनाए । उनले बेला–बेलामा हुने कर्मचारी प्रतिको धरपकड लगायत वाह्य दबाबलाई सरकारले नियन्त्रण गर्न नसक्दा बैंकहरु अफ्ठ्यारो अवस्थामा पुगेको बताए ।

संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोईरालाले पनि नेपालका बैंकहरु चुनौतिपूर्ण अवस्थामा रहेको बताए । उनले बैंकहरुमा रिकभरी,खराब कर्जा व्यवस्थापन,लाभांशका समस्याहरु रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुमा संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताउँदै तथ्यांकमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिने र समस्यै समस्या रहेको बुझाइ भएपनि आधारभुत रुपमा बैंकिङ क्षेत्र दृढ स्थितिमा रहेको उल्लेख गरे ।

अध्यक्ष कोईरालाले बैंकिङ क्षेत्रमा देखिएका वर्तमान समस्याहरुलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनी नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामकीय व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको उल्लेख गरे ।

उनले भने, ‘बैंकिङ क्षेत्रमा धेरै समस्याहरु छन् । जसमा बैंकहरुमा रिकभरी,खराब कर्जा व्यवस्थापन,लाभांशका समस्याहरु रहेका छन् । तर यी सबै समस्यालाई चिरेर अघि बढ्नुपर्ने अवस्था छ । राष्ट्र बैंकबाट पछिल्लो समय आएका रेगुलेसन हुँदै आएका परिमार्जनले बैंकिङ उद्योगलाई दक्षिण एशियामा बलियो बनेको छ ।’

उनले राष्ट्र बैंकको भुमिकाले नेपाली बैंकहरुलाई दक्षिण एशियामै मजबुत बैंकिङ बनाउन सफल भएको बताउँदै नेपाली बैंकहरुले विवेकी बैंकिङ गर्दै आएकाले सुशासनका आधारमा अब्बल बन्दै आएको दाबी गरे ।

उनले बैंकहरुको प्रतिफलमा राम्रो नदेखिए पनि भित्रिरुपमा सबल रहेको जिकिर गरे । अध्यक्षका रुपमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि आफू कटिबद्ध रहने प्रतिवद्धता जनाए । पूर्वबैंकर राजनसिंह भण्डारीले बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको आरोप लगाए ।

उनले राष्ट्र बैंकले बैंकका कार्यकारी अधिकृत,अध्यक्षसँगको छलफलमा लाभांशको धेरै आशा नगर्न भन्ने गरेको बताउँदै बैंकहरुले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैंकका निर्देशन पूर्णपालना गरी उच्चदरमा लाभांश बाड्ने बैंकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

बैंकर्सहरुले बैंकलाई सबल र सक्षम बनाउनको लागि सबै क्षेत्रको सहयोग साथ आवश्यक रहेको बताए । उनीहरुले बैंकहरु पछिल्लो समय देखिएका समस्या समाधानको लागि सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै लगानीको वातारण बनाउनुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्