काठमाडौं । इन्साइडर ट्रेडिङ गरेको भन्दै कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाललाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारबाही गरेकाे छ । नेप्सेले मंगलबार (पुस २ गते) सूचना प्रकाशीत गर्दै कारोबार रोक्का सहितको कारबाही गरेको जानकारी दिएको हो ।
नेप्सेले जारी गरेको सूचना अनुसार कम्पनी सञ्चालक समितिको बैठकले गत मंसिर ५ गरे गरेको लाभांश सम्बन्धि निर्णय समयमा पेश नगरेको कारण इन्साइडर ट्रेडिङ भएकाे हुनसक्ने भन्दै बोटलर्स नेपाललाई कारबाही गरेको सूचनामा उल्लेख गरेको छ ।
बोटलर्स नेपालले मंसिर ५ गते बैठक बसेर गरेको लाभांश वितरण नगर्ने सम्बन्धि निर्णय नेप्सेमा पुष २ गतेमात्र पेश गरेको छ । कम्पनीले आफ्ना सिमित लगानीकर्ताहरुलाई मात्र थाहा हुनेगरी कारोबार गरेको छ । कम्तिमा १ महिनासम्मको अवधिमा उक्त निर्णय नेप्सेमा पेश नगरेको कारण आम लगानीकर्ताले बोटलर्स नेपालमाथी प्रश्न गरेका छन् ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएका सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था भएकाले सोही व्यवस्था अनुरुप नेप्सेले बोटलर्स नेपाललाई कारबाही गरेको हाे ।
नेप्सेले कम्पनीले ३ कार्यदिन भित्र के कति कारणले उक्त निर्णय ढिला पेश गरेको स्पस्टीकरण बुझाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्