तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र सुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम गत शनिबारदेखि पुन: सुरु भएको हो ।
निर्माण सम्पन्न गर्ने अवधि सकिएको लामो समयपछि कालोपत्र सुरु गरिएको देवघाट गाउँपालिकाका इञ्जिनीयर तीर्थ ढुङ्गानाले जानकारी दिए । काम छाडेर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि गाउँपालिकाले समयमै सम्पन्न गर्न ताकेता गरेको थियो ।
उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न जिएमआर कन्ट्रक्सन प्रालि चितवनले विसं २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा उक्त योजनाका लागि बजेट विनियोजन भएको थियो ।
एक हजार पाँच सय सय मिटर लम्बाइ र नालीसहित ११ मिटर चौडाइको उक्त सडक विसं २०८० पुस २१ गते सम्म सम्पन्न गर्ने गरी भ्याटसहित ३ करोड ७१ लाख ११ हजार दुई सय २५ मा ठेक्का लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्