विराटनगर । विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन् । काठमाडौं गुर्खाजसँग हार व्यहोर्दै एनपिएलको पहिलो सिजन यात्रा टुङ्गाएपछि प्रशिक्षक केभिनले कन्डिसनलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताएका हुन् ।
उनले कठिन परिस्थितिमा सही निर्णय लिन पनि समस्या भएको उल्लेख गरे । बलिङ, ब्याटिङ र फिल्डिङमा पनि सतशप्रतिशत इफोर्ट लगाउन नसकेको उनको भनाइ छ । उनले पहिलो ३/४ खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको उल्लेख गरेका छन् ।
विकेट बुझ्न विदेशी खेलाडीका लागि गाह्रो परेको उनी बताउँछन् । कप्तान सन्दीप लामिछाने विकेट लिन नसक्दा पनि टोलीमाथि दबाब परेको हो भन्ने प्रश्नमा उनले एउटा बलरलाई मात्र दोष दिन नहुने र पछिल्ला खेलमा सन्दीपले पनि राम्रो गरेको उल्लेख गरे ।
केही खेलाडी विराम हुँदा पनि समस्या परेको उनको भनाइ छ । उनले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताएका छन् । सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उनी बताउँछन् ।
उनीहरूको प्रदर्शनमा पनि धेरै विकास आएको उनको विश्वास छ । काठमाडौंका कप्तान करण केसीले १२ औं ओभरभित्र खेल जित्दै प्लेअफमा पुग्न नेट रनरेटमा सुधार गर्ने लक्ष्य भएपनि सफल नभएको बताए । तर, ब्याटिङमा धराशयी हुँदा योजना सफल हुन नसकेको उनले बताए ।
करणले बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसकेको बताए । उनले इङ्लिस ब्याटरलाई टोलीमा अनुबन्धित गर्नु खराब निर्णय नभएको पनि उल्लेख गरे । तर, पिचको कन्डिसनमा बुझ्न नसक्दा इङ्लिस ब्याटरलाई सहज नभएको उनको भनाइ छ । उनले सुरुमा कर्णाली याक्सलाई बलियो देखे पनि सुदूपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्