काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको बताएका छन् । नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्ट बीचको विवाद यति बेला उत्कर्षमा छ । मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर लामो समयदेखि व्यापार गर्दै आएको थियो ।
तर मन्त्री खड्काको कम्पनीले भाडा बापत पैसा उठ्न नसक्दा स्काउटलाई पैसा तिर्न नसकेको मन्त्री खड्काले जानकारी दिए । उनले पछिल्लो समय नियोजित रुपमा आफू संग्लन नभएको कम्पनीको कारोबारमा आफ्नो नाम जोडेर समाचारहरु आएको बताएका हुन् ।
उनले स्काउटसँग जोडर आएका समाचार नियोजित भएको बताए । उनले आफूले मन्त्री भएर गरेका राम्रो काम देख्न नचाहनेहरुले राजनीतिक चरित्र हत्या गर्ने र मन्त्रीबाट हटाउने योजनाका साथ समाचारहरु आएको जानकारी दिए । उनले स्काउट ऋणमा पुगेपछि टेण्डर प्रक्रियाबाट जग्गा र भवन प्रतिस्क्वयर फिट ४७ रुपैयाँमा महिनाको २५ लाख भाडा तिर्नेगरी लिएको जानकारी दिए । उनले आफू कम्पनीमा हुँदा समेत भाँडाको समस्या नभएको तर कोभिडको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसक्दा स्काउटलाई भाडा तिर्न नसकेको स्वीकार गरे ।
उनले स्काउटले विद्युत लाइन काट्ने,गेटमा ताल्चा लगाउने लगायतका काम निरन्तर भइरहेकाले विवाद बढेको बताए । उनले कम्पनीले ४ करोड रुपैयाँ भाडा उठाउन बाँकी रहेको भन्दै ३ करोड रुपैयाँ स्काउटलाई तिर्न बाँकी रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्