काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रियल स्टेट सेक्टरमा हदबन्दीले समस्या सृजना गरेको बताएका छन् । शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले रियल स्टेट सेक्टरमा हदबन्दीले समस्या सृजना गरेकोले यसमा पुन: छलफल गर्नु पर्ने जिकिर गरेका छन् । उनले जग्गा तथा आवास विकास महासंघले देशको समृद्धि हासिलमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै कृषि उत्पादनका लागि जग्गाको वर्गीकरण गरेर उपयोग गर्नु पर्ने जानकारी दिए । उनले जग्गाको सहि सदुपयोग गर्न नसके नेपालको जग्गा कङ्कृटको जङ्गलमा परिणत हुने बताए ।
उनले सरकारले अनुमति प्राप्त कम्पनीहरुबाट मात्रै घरजग्गा कारोबार हुने ऐन बनाए पनि कार्यान्वयनको लागि नियमवाली आवश्यक रहेको बताए । उनले उक्त नियमावली चाँडै बनाएर ऐन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उल्लेख गर्दै ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरुको मागमा सरकार सकारात्मक रहेको उल्लेख गरे ।
उनले निजी क्षेत्रलाई ल्याण्डपुलिङको मान्यता दिने विषयमा सरकारले सोचिरहेको पनि बताउँदै जग्गा हदबन्दी व्यवस्थाले विगतमा उपयुक्त काम गरे पनि अब समयानुकुल कानून संशोधन आवश्यक रहेको धारणा राखे ।
पौडेलले हदबन्दी व्यवस्थाले कृषि व्यवसाय गर्न, सौर्य ऊर्जाको काम गर्न धेरै समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै घरजग्गा व्यवसायमा देखा परेका समस्या अध्ययन गरी सरकारले सहयोग गर्ने र धराशायी हुन नदिने प्रतिवद्धता जनाए ।
उनले नेपालका शहर, बस्ती, खानेपानी, ढललगायको विकास गर्न शहरी विकास मन्त्रालय स्थापना गरिएको बताउँदै विदेशीलाई अपार्टमेण्ट बेच्न पाउने मागलाई तत्काल कार्यान्वयन गर्नसक्ने अवस्था नभएको संकेत गरे ।
अर्थमन्त्री पौडेलले रियल स्टेटको ब्रोकरलाई लाईसेन्स दिनुपर्ने जिकिर गर्दै ल्यान्ड पुलिङ गर्न पाउने अधिकार निजी क्षेत्रलाई पनि उपलब्ध गराउनु पर्ने दाबी गरे । निर्माण क्षेत्रको ऐन छिटो ल्याउनु पर्ने जनाउँदै उनले भने, ‘अहिले हदबन्दीको कुरा धेरै उठिरहेको छ । यस्ले समाजलाई योगदान गरिसकेको छ । तर अहिलेको परिस्थितिमा हदबन्दीलाई हुबहु राख्ने हो भने यस्ले आजको समस्या समाधान गर्न सक्दैन ।’
हाल घर जग्गा कारोबारमा सङ्कुचन आएको उनको भनाइ छ । ‘कानूनि संगठन गरेर मुलुकको घर जग्गा कारोबारमा देखिएको सङ्कुचनलाई अन्त्य गर्नु पर्नेमा सरकार लागेको छ ।’ उनले थपे ‘जग्गामा देखिएको समस्या समाधान गर्न तपाइँहरु मौन नबस्नु होस् । सरकारले जायज समस्या समाधान गर्छ । जग्गाको समस्या भनेको सरकार, मुलुक पनि समस्या हो ।’
प्रतिक्रिया दिनुहोस्