काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको कात्तिक महिनासम्म ५ सय २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।
गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ सय ६८ अर्ब २६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ५२१ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
यो ४ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुन: श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ जना रहेका छन् ।
गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ जना रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्