Shikhar Insurance
National Life

पानी नपर्दा खेत मै सुक्यो बाली, हुम्लाका किसान चिन्तित

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार ११:१५
Hyundai
NCELL
NIMB

हुम्ला । हिमाली जिल्ला हुम्लामा कात्तिक महिनाको पहिलो सातादेखि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । कात्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको पहिलो हप्तादेखि खेतबारीमा गहुँ, जौ र उवा छर्किए वर्षा नहुँदा उम्रिन नपाएको किसानको भनाइ छ ।

उम्रिएका बोट लामो समयसम्म वर्षा नभएपछि खेतमै सुक्ने चिन्ताले सताएको यहाँका किसानको गुनासो छ । विगतमा यतिबेला खेतबारीमा गहुँ बाली उम्रिएर हरियो हुने गरेको भए पनि यसवर्ष लामो समयसम्म वर्षा नहुँदा कृषकले चिन्ता व्यक्त गर्न थालेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्लाका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्ने भएकाले खेतबारीमा लगाइएको गहुँ पानी नपर्दा खेर जाने अवस्थामा पुगेको ताँजकोट गाउँपालिका–३ का लखन मल्लले बताए ।

खेतीबारीबाट कात्तिके बाली भित्र्याए लगत्तै गहुँ, जौ, उवा, मोटर, मुसुरलगायत अन्य बाली लगाइएको भए यतिबेलासम्म नउम्रिदा यो वर्ष खाद्यान्न सङ्कट हुने चिन्ता रहेको मल्ल बताउँछन् । जिल्लामा सिँचाइको पर्याप्त व्यवस्था नभएकै कारण किसानले खडेरीको मार खेप्नुपरेको सिमकोट गाउँपालिका–४ बुराउँसेका मिरा लामाले बताइन् ।

लामाले भनिन्, ‘त्यसै त जिल्लामा गहुँ उत्पादन कम हुन्छ । त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि चिन्ता बढेको छ ।’ अबको केही दिनमा वर्षा भएमा त्यति असर नहुने तर वर्षा वा हिमपात नै नभएमा यो वर्ष खाद्यान्न सङ्कट निम्तिन सक्ने उनले बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्