काठमाडौं । अहिलेसम्मकै ठूलो मर्जर अर्थात् हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरको समझदारी पत्रमा हस्ताक्षर गर्नु अघिल्लो साँझ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले कर्मचारीलाई एक इमेल लेख्दै भनेका थिए,
“हामी मर्जमा नजाँदा हाम्रो बजारमा स्थान खस्कन थालेको छ । र, निकै सानो बैंक हुने डर भयो ।”
राणाको यो सन्देशले एक समयको ठुलो भनेर चिनिने हिमालयन बजारको प्रतिस्पर्धामा बिलाउने डर पैदा भएको महसुस गराएको थियो । राणाको सन्देशले सबै बैंकहरुको मानसिकता प्रतिनिधित्व गर्छ ।
डर नहोस् पनि कसरी ? एक समय बजारमा पकड बनाएको हिमालयन मध्यस्तरको बैंक बनिसकेको थियो । बैंक निक्षेपको आधारमा १५ औं, कर्जा प्रवाहको आधारा १६ औं, कुल सम्पत्तिका आधारमा १६ औं, कुल इक्विटीका आधारमा १५ औं, वितरणयोग्य नाफाका आधारमा १९ औं, प्रतिसेयर आम्दानीका आधारमा २१ औं बैंक बनेको चालु आवको तेस्रो त्रैमाससम्मको तथ्यांकले देखाउँछ ।
यही ट्रेन्ड जारी रहे, हिमालयन बैंक पुच्छरबाट गन्दा एकै हातको औंलामा अटाउने पोजिसनमा पुग्ने निश्चित थियो ।
मर्जरपछि बन्ने संस्था मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक हुने भएको छ । कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख रूपैयाँ, जगेडा कोष २१ अर्ब ७७ करोड, कुल निक्षेप करिब तीन खर्ब बढी पुग्नेछ, जुन अहिलेका वाणिज्य बैंकमध्ये सबभन्दा बढी हुनेछ ।
ग्लोबल आईएमई बैंक र जनता बैंकले पुस ७, २०७६ गते एकआपसमा मर्ज भएर बनेको ग्लोबल आईएमईलाई नेपालको सबैभन्दा ठूलो बैंकको सूचीमा उभ्याएका थिए । बैंकको हालको चुक्तापुँजी २१ अर्ब ६३ करोड छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या बढी भएको भन्दै मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएपछि यी बैंक मर्ज भएका हुन् । यी बैंकको मर्जपछि वाणिज्य बैंकको संख्या २६ मा झरेको छ । तर, जानकारहरू नेपालमा बढीमा १५ वटासम्म वाणिज्य बैंक बैंक भए पुग्ने बताउँदै आएका छन् ।
हिमालयन र इन्भेस्टमेन्ट तथा ग्लोबल आईएमई र जनता एक बन्नुअघि पनि वाणिज्य बैंकहरू मर्ज नभएका हैनन् । ग्लोबल बैंकले कमर्ज एन्ड ट्रस्ट बैंकलाई पनि आफूमा समाहित गरेको थियो ।
एनएआईसी (नेपाल इन्डिस्ट्रियल एन्ड कमर्सियल) बैंक र बैंक अफ एशिया नेपाल मिलेर बनेको बैंक देशकै ठूलो निक्षेप संकलन र कर्जा प्रवाह गर्ने बैंक बनेका थिए ।
एनआईसी एशिया आक्रामक बजार विस्तार गर्ने बैंकको सूचीमा पहिलो नम्बरमा पर्छ ।
त्यसअघि बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक एक भएका थिए भने किस्ट बैंक, ग्रान्ड बैंक तथा प्रभु विकास बैंक मिलेर प्रभु बैंक बनेका थिए ।
हिमालयन र इन्भेस्टमेन्ट मिलेर ठूलो बैंक बनेपछि यतिबेला नबिल बैंक सबैभन्दा ठूलो बन्ने सुरमा लागेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नबिलले पनि पार्टनर
खोजिरहेको छ । बैंकले सानो तर अब्बल मानिएको युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने पक्का भइसकेको छ । नबिलले एनबीसँग मर्ज गर्ने योजना अन्तिम चरणमा पुगेको बैंकसम्वद्ध अधिकारीहरुले बताउँदै आएका छन् भने नबिलले एनसीसीलाई पनि ताकिरहेको छ ।
एनआईसी एशियाले आक्रामक शैली अपनाउँदै अरु बैंकहरुलाई व्यवसाय विस्तारमा थ्रेट दिएपछि ठूला बैंकहरु आ–आफ्नै ढंगले मर्जका लागि ताकिरहेका छन् । ठूला भनिएका बैंकहरु नै मर्जरबाट थप सबल बन्ने अभियानमा लागेपछि मध्यमस्तरका तथा साना बैंकमा दबाब थपिएको छ ।
११ अर्ब भन्दा कम चुक्तापुँजी भएका तथा १ खर्ब ३० अर्ब भन्दा निक्षेप संकलन गरेका बैंकलाई मध्यम तथा साना बैंक मान्दा यो सूचीमा सिद्धार्थ, लक्ष्मी, एनसीसी, बैंक अफ काठमाण्डू, नेपाल एसबीआई, सनराइज, माछापुच्छ्रे, सेन्चुरी, नेपाल बंगलादेश, एभरेस्ट, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड पर्छन् ।
मर्जबारे कुन बैंकको के पोजिसन ?
बिग मर्जर गरेर ठूला भएकाः एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभु
मर्जरमा जाने पक्का भएकाः हिमालयन + नेपाल इन्भेस्टमेन्ट
मर्जरको कुरा चलेकाः नबिल + एनबी + एनसीसी बैंक र मेगा + बैंक अफ काठमाण्डू
मर्जरमा जान इच्छा देखाएकोः एभरेस्ट
मर्जरमा जान अनिच्छुकः स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सानिमा, माछापुच्छ्रे, नेपाल एसबीआई
सरकारी बैंकः राष्ट्रिय वाणिज्य, कृषि विकास, नेपाल बैंक
बाँकी बैंकहरुः सिद्धार्थ, प्राइम, कुमारी, सिटिजन्स, लक्ष्मी, सनराइज, सेन्चुरी, सिभिल
कुन बैंकको कस्तो रणनीति ? मर्ज नभए के हुन्छ ?
नेपाल राष्ट्र बैंक आफैंले ठूला, बलिया तथा सबल बैंक तथा वित्तीय संस्था बनाउने भन्दै बिग मर्जरलाई घोषित रुपमै अघि बढाएको छ । यसले पनि साना बैंकहरुलाई दबाब बढाउको थप स्पष्ट देखिन्छ ।
यी साना र मध्यमस्तरका बैंकहरु जसरीतसरी चलिरहेकै छन् । उनीहरुको वित्तीय स्वास्थ्य तथा कर्पोरेट गभर्नेन्स ठूला भनाउँदाको तुलनामा सक्षम र सबल छ । तर, समकक्षी बैंकहरु मोटाउँदै जाँदा यी बैंकलाई सानै रहेर व्यवसाय गरिरहँदा ‘सानो बैंक’को ट्याग कदापी हट्ने छैन ।
बैंक अफ काठमाण्डू अब ‘नो मोर स्मल बैंक’ भन्दै मर्जरको अन्तिम तयारी जुटेको छ । सानिमा र स्ट्यान्डर्ड चार्टर्ड व्यवसायमा आफ्नै रणनीति अपनाउने सुरमा छन् । त्यसैले सेन्चुरी, सिभिल, लक्ष्मी, सनराइज, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी र सिटिजन्स बैंक इन्टरनेसनललाई बिग मर्जरमा जाने दबाब छ । यी मध्ये लक्ष्मी नाम एभरेस्टसँग जोडिइसकेको छ ।
बाँकी बैंकलाई आफूआफूमा गाभिने कि ठूलो बैंकमा विलय भएर एक भइ अघि बढ्ने दोधारमा छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको हकमा गुडविल कायम हुने भन्दै कुनै संस्था मर्ज नगर्ने जानकारी नेपाल राष्ट्र बैंकलाई जानकारी दिइसकेको छ । विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड नेपालमा नबस्दा नेपालको इज्जतको समेत कुरा उठ्ने भएकाले केन्द्रिय बैंकले बैंकलाई छुट दिँदै आएको छ ।
एनएमबि बैंक र सानिमा बैंकले आफूसँग मिल्दोजुल्दो पार्टनर बैंक नभएकाले मर्जमा जानेबारे कुनै धारणा नबनाइएको बताएका छन् । एनएमबिले त मर्जरमा नगएर रणनीतिका साझेदार भित्र्याउने योजना बनाएको छ ।
विदेशी लगानी भएको नेपाल एसबीआई बैंकले मर्जरबारे धारणा प्रकट गरिसकेको छैन भने अर्को विदेशी लगानीको एभरेस्ट मर्जरमा जान पटकपटक इच्छा प्रकट गर्दै आएको छ । बेलाबेलामा एभरेस्टको नाम लक्ष्मीसँग जोडेर आउने गरेको छ ।
ती सरकारी बैंक मर्जरमा नजाने स्पष्ट अडानमा छन् । बैंक अफ काठमाण्डू र मेगा बैंक मर्जरमा जाने कुरा सार्वजनिक भइसकेको छ । सेन्चुरी बैंक झन् सानो हुँदै गर्दा अहिलेसम्म पार्टनर खोजिरहेको छैन । अरु बैंकले आफ्ना सम्भावित पार्टनरतिर नजर लगाइरहेका छन् ।
केही बैंकले २० अर्ब भन्दा माथिको पुँजीसहित व्यवसाय गर्न थालेपछि अन्य बैंकहरु आफैं मर्जरका लागि पार्टनर खोज्नु आवश्यकता हुनेछ । पाँच वटा बैंकले २० अर्ब भन्दा बढि पुँजी बोकेर व्यवसाय थालेपछि साना बैंक आफैं मर्जरका लागि तातिन्छन् । ठूला बैंकको सञ्चालन खर्च, ब्याजदर, कस्ट अफ क्यापिटल, कस्ट अफ फन्ड आदी सानाको भन्दा ठूला हुन्छ र ती बैंकले ग्राहकबाट लिने शुल्क पनि कम हुने भएकाले साना बैंकका ग्राहक ठूलातर्फ आकर्षित हुन्छन् । यस्ते स्थितिमा बैंक आपसमा मर्ज गरेर ठूलो बनाउनुको विकल्प हुँदैन ।
कुन बैंक कसरी अहिलेको स्थितिमा आइपुगे ?
क) ठूला बैंकहरुः
नेपाल इन्भेस्टमेन्ट बैंकः नेपाल इन्भेस्टमेन्ट बैंक + सिटी एक्स्प्रेस फाइनान्स + जेबिल्स फाइनान्स + एस डेभलपमेन्ट बैंक
एनआईसी एशिया बैंकः एनआईसी बैंक + बैंक अफ एशिया
प्रभु बैंकः प्रभु फाइनान्स + वैभव फाइनान्स + जेनिथ फाइान्स + गौरीशंकर डेभलपमेन्ट बैंक + किस्ट बैंक + ग्राण्ड बैंक नेपाल
ग्लोबल आईएमई बैंकः ग्लोबल आईएमई बैंक + जनता बैंक + कमर्ज एन्ड ट्रस्ट बैंक + रिलायबल डेभलपमेन्ट बैंक + प्यासिफिक डेभलपमेन्ट बैंक + सोसियल डेभलपमेन्ट बैंक + गुल्मी विकास बैंक + लर्ड बुद्ध फाइनान्स + आईएमई फाइनान्स
राष्ट्रिय वाणिज्य बैंकः राष्ट्रिय वाणिज्य बैंक + एनआईडीसी विकास बैंक
ख) मर्जमा जान इच्छा नदेखाएका
एनएमबि बैंकः एनएमबि बैंक + कञ्चन डेभलपमेन्ट बैंक + ओम डेभलपमेन्ट बैंक + पाथिभरा विकास बैंक + क्लिन इनर्जी डेभलपमेन्ट बैंक + भृकुटी डेभलपमेन्ट बैंक + प्रुडेन्सियल फाइनान्स
सानिमा बैंकः सानिमा बैंक + बाग्मती डेभलपमेन्ट बैंक
ग) मर्जको हल्ला चलेका
बैंक अफ काठमाण्डूः बैंक अफ काठमाण्डू + लुम्बिनी बैंक
मेगा बैंक नेपालः मेगा बैंक + गण्डकी विकास बैंक + टुरिजम डेभलपमेन्ट बैंक + पश्चिमाञ्चल डेभलपमेन्ट बैंक
घ) अन्य मध्यम तथा साना बैंक
माछापुच्छ्रे बैंकः माछापुच्छ्रे बैंक + स्टान्डर्ड फाइनान्स
सेन्चुरी कमर्सियल बैंकः सेन्चुरी बैंक + अल्पाइन विकास बैंक + इन्नोभेटिभ विकास बैंक + अरनिका विकास बैंक + सेती फाइनान्स + सगरमाथा फाइनान्स
सिटिजन्स बैंक इन्टरनेसनलः सिटिजन्स बैंक + तिनाउ मिसन डेभलपमेन्ट बैंक + सहयोगी विकास बैंक + पिमियर फाइनान्स + नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स + पिपुल्स फाइनान्स
कुमारी बैंकः देवः विकास बैंक + काषटमाणडप डेभलपमेन्ट बैंक + महाकाली विकास बैंक + पश्चिमाञ्चल फाइनान्स + काँक्रेबिहार विकास बैंक
प्राइम कमर्सियल बैंकः पइम कमर्सियल बैंक + कैलास विकास बैंक + कन्काइ विकास बैंक
सिद्धार्थ बैंकः सिद्धार्थ बैंक + बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक
सनराइज बैंकः सनराइज बैंक + एनआईडीसी क्यापिटल मार्केट + नारायणी नेसनल फाइनान्स
एनसीसी बैंकः एनसीसी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक + एपेक्स डेभलपमेन्ट बैंक + सुप्रिम डेभलपमेन्ट बैंक + इन्टरनेसनल डेभलपमेन्ट बैंक
सिभिल बैंकः सिभिल मर्चेन्ट वित्तीय संस्था + युनिक फाइनान्स + हामा मर्चेन्ट एनड फाइनान्स + इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स
लक्ष्मी बैंकः लक्ष्मी बैंक + प्रोफेसनल दियालो विकास बैंक
अब प्रश्न छ, साना र मध्यस्तरका भनिएका यी बैंक हालकै स्थितिमा रहिरने ? के छ राष्ट्र बैंकको योजना ?
नेपाल राष्ट्र बैंकले भने बग मर्जरका लागि बाध्य नपार्ने तर प्रेरित गर्ने रणनीति लिने भएको छ ।
बैंकको अनुसन्धान विभागले बैंक तथा वित्तिय संस्थाहरुको संख्या, पुँजी, प्रविधि र पर्फर्मेन्सका बारेमा अध्ययन गरिरहेको छ । सो अध्ययनको प्रारम्भिक निष्कर्शले पनि बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउनुपर्नेमा जोड दिएको छ । तर, तत्काल पुँजी बढाउने वा फोर्स मर्जरमा पठाउने बाटो रोज्न नहुने निचोड अध्ययनले निकालेको छ ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सिंहदरबारसँग भने, ‘राष्ट्र बैंक अहिले नै पुँजी बढाउने वा फोर्स मर्जरको बाटोमा जाने मनस्थितिमा छैन, बैंकहरु आफैं मर्जरमा जाने वातावरण केन्द्रिय बैंकले बनाउँछ।ु तर, समकक्षी बैंकहरू ठूला भएपछि साना बैंकलाई आफैं पनि मर्जरका लागि बाध्यकारी स्थिति सिर्जना हुने ढकालको दाबी छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई मर्जरका लागि प्रेरित गर्न आगामी मौद्रिक नीतिबाट केहि सहुलियत थपिदिन सक्ने संकेत पनि प्रवक्ता ढकालको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिक बैंकका प्रमख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, “नेपालको अर्थतन्त्र र बैंकहरुको संख्याका बिचमा तालमेल नमिलेकाले संख्या घटाउन राष्ट्र बैंकले अनुसन्धान गर्नुपर्छ । बैंकहरुको संख्या धेरै भएको पक्कै हो । यतिको संख्यामा बैंक चाहिन्छ भन्ने राष्ट्र बैंककै अध्ययनको विषय हो ।”
यद्यपि क्षमता सानो भएर पनि गुणस्तर कायम गरेका बैंकलाई राष्ट्र बैंकले जबरजस्ती गर्न नमिल्ने उनी बताउँछन् ।
दाहालले भने, “बैंकहरुले धेरै व्यवसाय गर्न पूँजी बढी हुनुपर्छ तर थोरै पुँजी भएर पनि गुणस्तरीय व्यवसाय गर्न सकिन्छ । तर, उनीहरुले प्रवाह गर्ने सेवा कस्तो दिन्छन् त्यो हेरेर अब्बल–दुर्बल, राम्रो–नराम्रो, ठीक–बेठीक छुट्याउनुपर्छ, आकार हेरेर हैन ।”
बैंकहरू वित्तीय रूपम सबल र कर्पोरेट गभर्नेन्समा सक्षम ५० वटा बैंक भए राष्ट्र बैंकले टाउको दुखाउनु नपर्ने उनको भनाइ छ ।
“ठुला बैंकले व्यवसाय विस्तार गर्दै जाँदा सानाले सकेनन् भने उनीहरु आफैं छाड्दै जान्छन्,” दाहालले भने, “उनीहरु जबरजस्ती ठूलो बैंकमा विलय हुनु आवश्यक छैन । बरू लिक्वेडेसनको बाटो पनि उपयुक्त हुन सक्छ ।”
राष्ट्र बैंकले फोर्स मर्जर गराउने भन्दा पुँजी २० अर्बभन्दा बढी बनाउन प्रेरित गर्ने र त्यसका लागि मर्जरको विकल्प दिइने योजना बनाएको बुझिएको छ । केन्द्रिय बैंकको सोच बैंकहरु आफैं मर्जरमा जाउन् र ठूला बनुन् भन्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्