काठमाडौैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गरेका छन् । आइतबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो दाबी गरेका हुन् ।
उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु कर्णालीमै र फागुनभित्रै हुने प्रतिवद्धता जनाए । उनले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि मन्त्री चौधरीले सांसदहरुसँग आग्रह गरे ।
उनले दशौं राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भएपनि अब मिति नसर्ने बताउँदै प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गरे ।
भौतिक पूर्वाधार करिव सकिएको र अहिले पनि खेलाडीहरुको व्यवस्थापन ठूलो चुनौति रहेको बताउँदै भने, ‘कसले भ्रम सिर्जना गरिदियो, कुन पत्रिकाले निकालिदियो, कर्णालीमा खेल हुँदैन, कर्णालीमा यो हुँदैन भनेर । तपाईंहरुले कुन पत्रिकामा पढ्नुभयो, कहाँ पढ्नुभयो । तपाईंहरुले प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको छ । खेलकुद कर्णालीमै हुन्छ, त्यसमा पनि फागुनमै हुन्छ । एउटा डेट सकियो अब अर्को डेट परिवर्तन हुनेछैन ।’
मन्त्री चौधरीले देश र युवाहरुको चाहना खेलकुदमा सोचे भन्दा बढी आकर्षण रहेको बताउँदै सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरुको चाहना पूरा गर्न नसकिने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्