एजेन्सी । भारतको आर्थिक वृद्धि जुलाईदेखि सेप्टेम्बरको अवधिमा ५.४ प्रतिशतमा घटेको छ । जुन सात त्रैमासिकमा सबैभन्दा सुस्त गति हो ।अघिल्लो त्रैमासिक अप्रिलदेखि जुनसम्म ६.७ प्रतिशतले वृद्धि भएको थियो ।
तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्पादन तथा खानी क्षेत्रको कमजोर प्रदर्शनका कारण जुलाई–सेप्टेम्बर त्रैमासिकको सुस्तता आएको हो । गत वर्षको सोही अवधिमा १.७ प्रतिशतको तुलनामा जुलाई–सेप्टेम्बरको त्रैमासिकमा कृषि क्षेत्र ३.५ प्रतिशतले वृद्धि भएको थियो ।
सन् २०२३ को जुलाई–सेप्टेम्बरको त्रैमासिकमा १४.३ प्रतिशतको तुलनामा उत्पादन क्षेत्रले २.२ प्रतिशत वृद्धि गरेको छ । विद्युत, ग्यास, खानेपानी र अन्य उपयोगिता सेवाहरू अघिल्लो वर्ष १०.५ प्रतिशतको तुलनामा ३.३ प्रतिशतमा झरेको छ । निर्माण क्षेत्र पनि गत वर्ष १३.६ प्रतिशतको तुलनामा ७.७ प्रतिशतमा झरेको छ ।
व्यापार, होटल, यातायात, सञ्चार र सेवा प्रशारणमा गत वर्ष ४.५ प्रतिशतको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ । खानी तथा उत्खनन ०.१ प्रतिशतले संकुचित भएको छ । जुन अघिल्लो वर्ष ११.१ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्