काठमाडौं । नेपालगञ्जस्थित राँझा विमानस्थलबाट हुलाकी राजमार्ग हुँदै पश्चिम तर्फ करिब ४५ किलोमिटरको दुरी पार गरेपछि देहातको फाँटमा देखिन्छ एउटा भिमकाय उद्योगको संरचना । ठूला ठूला मेसिन, ठूला भण्डारण गृह, गेटमै सुरक्षाको गतिलो प्रबन्धसहित केहि ढुवानीका सवारी साधन पनि त्यहि उद्योग परिसर भित्रै देखिन्छन् । साढे १२ बिगाह जमिनमा फैलिएको संरचनाभित्र ३ सय भन्दा बढी प्राबिधिक, कर्मचारी र मजदुरहरु अहोरात्र खटिईरहेका भेटिन्छन् ।
युरोप र चिनबाट भित्र्याईएका ठूला ठूला मेसिन र चिम्नी, भारतबाट मगाईएका केहि कच्चा पदार्थ अनि डडेलधुराको खानीबाट ल्याईएको माटो मिसाएर त्यहाँ तयार गरिन्छन् अत्याधुनिक र गुणस्तरिय भिट्रिफाइड लेमिनार टायल ।
नेपालमा आज लगानी गरेर केहि समयभित्रै मनग्गै नाफा कमाउनुपर्छ भन्ने सोँच पाल्नेहरु भन्दा भिन्न अठोट बोकेका केहि व्यवसायीहरुले मिलेर करिब चार अर्बको लगानीमा लुम्बिनी प्रदेशको कोर देहाती इलाका गुलरिया नगरपालिका ८ बर्दियामा स्थापना गरेका छन् लुम्बिनी सेरामिक्स लिमिटेड । र यो उद्योगले उत्पादन गर्ने स्वदेशी ब्राण्डको आधुनिक टायलको नाम हो लेमिनार ।
‘आजै कमाउ, आजै खाउँ’ भन्ने सोँच हावी भैरहेको परिवेशमा सुब्रत धिताल, अभिनव चुरिवाल, श्यामसुन्दर खेतान, आशुतोष खेतान, शिनी खेतान, शशि चिरुवाल र सिर्जना अर्यालसहित अन्य केहि साँझेदार मिलेर ठूलै हिम्मतका साथ चार अर्ब रुपैयाँ लगानी गरेको देखिन्छ ।
लगानी, उत्पादन क्षमता र बजारीकरण
कम्पनीमा सुब्रत धितालको ३१ प्रतिशत सेयर रहेको छ भने श्यामसुन्दर खेतान, आशुतोष खेतान, शिनी खेतान, शशि चुरिवाल र सिर्जना अर्याल लगायतको लगानी छ । उद्योगले करिब ५ सय भन्दा बढी आइटममा आकर्षक डिजाइनका भिट्रिफाइड लेमिनार टायल उत्पादन गरिरहेको छ । जुन ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ रहेको कम्पनीको दावी छ । २०८१ असोज १ गतेदेखि उत्पादन थालेको लुम्बिनी सेरामिक्स लिमिटेडलाई देशकै कान्छो तथा ठूलो उद्योग मान्न सकिन्छ । नेपालीपन र नेपाली मनको मिलावट भएको लेमिनार टायल २ महिनापछि देशभरका १०० भन्दा बढी डिलर मार्फत बिक्रि वितरण गराईरहेको छ ।
लुम्बिनी सेरामिक्सका सञ्चालक अभिनव चुरिवालका अनुसार कम्पनीले बार्षिक ४ करोड १५ लाख वर्ग फुट टायल उत्पादन गर्न सक्छ । र उद्योगले पहिलो बर्ष नै ८० प्रतिशत क्षमता प्रयोग गर्ने तयारी गरेको छ । यी टायलहरु नेपालीका घर घरमा पुर्याउने लक्ष्य रहेको बताउँदै उनले टायल बनाउने पुरै प्रक्रिया सुनाए । ‘उद्योगले कच्चा पदार्थका रुपमा विभिन्न प्रकारका माटोहरूलाई प्रशोधन गर्ने, मिश्रण गर्ने, भट्टीमा तताएर ग्यासको रूपमा विकास गर्ने, त्यसलाई पानीमा मिसाउने, त्यसपछि टायलको रूपमा विकास गर्ने, टायललाई पोल्ने, चिस्याउने, पखाल्ने, कलर गर्ने, प्रिन्ट गर्ने, गुणस्तर जाँच गर्ने र अन्तिममा प्याकेजिङको काम गर्छ ।’, चुरिवालले भने ।
त्यसरी तयार भएका बिभिन्न भेराइटीका टायलहरु व्यक्तिगत घर, एयरपोर्ट, कम्प्लेक्स, मल, अस्पताल, अपार्टमेन्ट जस्ता सबै ठाउँमा प्रयोग गर्न सकिने पनि चुरिवालले जानकारी दिए ।
हाल लेमिनार ब्राण्डका टायलहरु प्रतिवर्ग फुट ८० देखि २०० रुपैयाँमा उपभोक्तासम्म पुगिरहेका छन् । चुरिवालका अनुसार यो मूल्य आयातित टायलहरुको भन्दा २० प्रतिशतसम्मले न्युन हो ।
कम्पनीको सञ्चालक समितिमा सुब्रत धिताल अध्यक्ष छन् भने श्यामसुन्दर खेतान, आशुतोष खेतान, शिनी खेतान, शशि चुरिवाल र सिर्जना अर्याल रहेका छन् । कोरोना काल अघिसम्म नेपालमा ९९ बजार हिस्सा भारतीय टायलहरुले ओगटिरहेका थिए र त्यतिबेला १० अर्ब ५० करोड रुपैयाँको टायल आयात भएको देखिन्थ्यो । र नेपालमा टायलको बजार बर्सेनी १० प्रतिशत आसपासले वृद्धि हुने गरेको बताइन्छ । आगामी दुई महिनाभित्र कम्पनीले देशभरका आफ्ना सैयौं डिलरहरु मार्फत लेमिनारका भिट्रिफाइड टायल उपलब्ध गराउने तयारी गरेको छ ।
आयात प्रतिस्थापन र आत्मनिर्भर बनाउने लक्ष्य
उद्योगका अध्यक्ष सुब्रत धितालले पनि टायलको आयात प्रतिस्थापन गर्ने र देशलाई टायलमा आत्मनिर्भर बनाउने उदेश्यले लगानी गरेको बताए । उनले नेपालमा उद्योगहरुमा लगानी गर्नु भनेको आफैंमा ठूलो जोखिम मोल्नु हो भन्ने जान्दा जान्दै पनि आफुहरुले हिम्मत गरेको बताए । ‘नेपालमा शहरीकरण बढिरहेको छ, नागरिकको जीवनस्तर माथि उकासिँदैछ, टायलको बजार विस्तार हुँदैछ, त्यसैले यो अवसरको पनि उपयोग गरौं, देशका लागि पनि केहि योगदान गरौं भनेर चार अर्ब लगानी गर्न तयार भएका हौं ।’, अध्यक्ष धितालले भने ।
प्रतिक्रिया दिनुहोस्