काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउँने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउँदै नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे ।
श्रेष्ठले धितोपत्र बोर्डको अध्यक्ष बिहिन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरु रहेको उल्लेख गरे । उनले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताए ।
बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरु अगाडि बढाउने जनाउँदै उनले पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा सेयर लगानीकर्ताहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए । उनले पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोशिस गर्ने बताए ।
श्रेष्ठले भने, ‘चुनौतीहरु धेरै छ । नेतृत्वको अभावमा अड्किएका कामहरु त्यत्तिकै छन् । मैले विशेष गरेर पुँजीबजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्छ । लगानीकर्ताहरुको सुरक्षा पहिलो प्राथमिकता हो । पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । त्यसको हामीले सदुपयोग गर्न सकिरहेका छैनौं । पुँजीबजारलाई अत्याधिक रुपमा प्रयोग गर्नसक्छौं ।’
‘आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तु स्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोकिएको थियो । त्यो समस्या समाधान हुँदै जान्छ । पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा लाग्ने र नेपाली पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने गरी काम गर्ने योजना छ’ उनले बताए ।
उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताउँदै आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । श्रेष्ठले पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने उल्लेख गरे ।
एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्