काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले नेपाली श्रमिकलाई भविष्यप्रति आस्वस्त तुल्याएको पनि दाबी गर्दै समाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति सरकारले धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी रहेको बताउँदै योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्रभावकारी कार्यान्वयन र परिणाम दिने गरी अगाडि लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने काम पार्टी नेकपा एमाले भएको बताउँदै एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको दाबी गर्दै अब व्यवहारिक रूपमा कार्यान्वयन र स्थापित गरिने जनाए ।
उनले समय क्रममा सामाजिक सुरक्षाका दायरालाई बिस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको बताउँदै भने, ‘समय क्रममा सामाजिक सुरक्षाका विधाहरुलाई मात्रै बिस्तार गरेका छैनौं । त्यसमा नयाँ विशेषतालाई पनि समाहित गर्दै अगाडि बढेका छौं । यही क्रममा योगदानमा आधारित समाजिक सुरक्षा योजना लागू गरिएको हो । राज्यको जिम्मेवारी नागरिकका प्रति छ । भन्ने शिलशिलामा सामाजिक सुरक्षाको अवधारणा अघि सारेका छौं ।’
‘योगदानमा आधारित सामाजिक सुरक्षा त्यसको एउटा मौलिक र नविनतम स्वरुप हो । सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ । भविष्य प्रति आस्वस्त तुल्याएको छ । सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी छ । प्रभावकारी र परिणाम दिने गरी अगाडि लैजानु पर्ने आवश्यकता छ’ उनले भने ।
उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारमा अघि सारिएको बताए । उनले केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्