Shikhar Insurance
National Life

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छ : सभामुख घिमिरे

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १७:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान् बुद्धको भूमि भएको बताए ।

उनले नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश, द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गरे । सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्रा ऐतिहासिक मोडका रूपमा रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्गप्रशस्त गरेको छ’ उनले भने । जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याए ।

शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति पनि हो भन्ने कुरामा सभामुखले जोड दिए । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उनले विश्वसामु प्रस्तुत गरे । सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुन:दोहर्‍याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गरे ।

‘शान्ति उपहार होइन । यो एउटा लक्ष्य हो’ उनले थपे ‘शान्तिको प्रवर्द्धनका लागि सामूहिक एकता र सृजनशील प्रयास आवश्यक छ ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्