काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ काे कात्तिक महिनासम्ममा नेपालमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ०.१७ प्रतिशतले बढी आयात भएको हो । गत आवको सोही अवधिमा नेपाल ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको आयात भएको थियो ।
चालु आवको ४ महिनामा ५२ अर्ब ६७ करोड ७ लाख १० हजार रुपैयाँ बराबरको निर्यात भएको छ भने यो गत आवको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी निर्यात भएको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको थियो ।
४ महिनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेर ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपैयाँ भएको छ । यो गत आवमा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, ४ महिनामा नेपालको कुल विदेशी व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको छ भने आयात तथा निर्यात अनुपात ९.७५ प्रतिशत रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
आयातबाट नेपाल सरकारले १ खर्ब ४५ अर्ब ८४ करोड ८४ लाख ८३ हजार राजस्व संकलन गरेको छ । चालु वर्षको कात्तिक महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा पेट्रोल, डिजेल, ग्याँस रहेको छन् ।
प्रतिक्रिया दिनुहोस्