काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन उड्नु अघि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको आन्तरिक समिकरण मिलाउन मन्त्रीहरु फेर्न लागिएको हो ।सत्ता साँझेदार नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग मन्त्री फेर्न समझदारी भैसकेको स्रोतले बताएको छ ।
उच्च स्रोतका अनुसार चार जना मन्त्री फेर्नेबारे सहमति भैसकेको छ । ती चार जनामध्ये २ जना नेपाली काँग्रेस र दुई वजना एमालेका मन्त्री छन् । ती बाहेक पनि केहि मन्त्रीका बारेमा छलफल अघि बढेको बताइन्छ ।
एमालेबाट उद्योग मन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ । त्यस्तै, काँग्रेसका तर्फबाट पर्यटन मन्त्री बद्री पाण्डे र वन मन्त्री ऐन बहादुर शाहीलाई फिर्ता बोलाउने तयारी छ ।
उनीहरुलाई फिर्ता बोलाएर क–कसलाई मन्त्री बनाउने भन्नेबारे भने उच्च तहमा निष्कर्ष निकाल्न बाँकी नै रहेको स्रोत बताउँछ । एमालेले मन्त्री छान्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिईसकेको छ । उता, काँग्रेसमा भने शेखर कोइराला र गगन थापासँग सभापति देउवाले सल्लाह गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्