काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंले वि.सं २०८० चैत २७ गते दुई वर्ष कैद र ३० लाख बिगो तथा ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने ‘लामालाई हामीले पक्राउ गरेका छौँ, सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ ।’ पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा विसं २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्