काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको ड्राफ्ट तयार पार्ने चरणमा छ । खुला सूचना आह्वान गरेर सुझाव मागेको राष्ट्र बैंकले सम्बन्धित पक्षसँगको छलफललाई पनि घनिभूत बनाईरहेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वित्तिय स्थायीत्व र उचित प्रतिफल सुनिश्चित हुने गरि आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । हाल बैंकहरुको औसत प्रतिफल १२ प्रतिशत हाराहारीमा झरेको र लगानीकर्ताहरुले पनि १५ प्रतिशत आसपास अपेक्षा गर्ने भएकाले सो अवस्था निर्माणका लागि राष्ट्र बैंकले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
मर्जर र एक्विजिसनका लागि बाध्य पार्ने भन्दा पनि वातावरण बनाउने तर्फ राष्ट्र बैंकले ध्यान दिनु पर्नेमा उनले जोड दिए । ‘तत्काल पुँजी बढाउने निर्णय गर्नु भनेको फोर्स मर्जरमा पठाउनु हो, फोर्स मर्जरले नतिजा दिँदैन, अहिले पुँजी बढाउने र फोर्स मर्जरमा पठाउने भन्दा पनि मर्जरका लागि प्रेरित गर्दा राम्रो होला’, दाहालले भने ।
नेपालको अर्थतन्त्र र बैंकहरुको संख्याका बिचमा तालमेल नमिलेकाले संख्या घटाउन राष्ट्र बैंकले अनुसन्धान गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘बैंकहरुको संख्या धेरै भएको पक्कै हो, कति संख्या चाहिन्छ ? त्यसको अध्ययन गरेर स्वतस्फुर्त रुपमा मर्जर वा एक्विजिशनका लागि वातावरण बनाउन ध्यान दिनुपर्छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले सिंहदरबारसँग भने ।
बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले पनि नेपालमा बैंकहरुको संख्या धेरै रहेको तर फोर्स मर्जरको बाटो अपनाउँदा समस्या आउने बताए । ठूलो पुँजी र अब्बल प्रविधि तथा जनशक्तिसहित नेपाली बैंकहरुलाई प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘मर्जर आजको आवश्यकता हो तर जबरजस्ति गरिनु हुन्न, दुई अध्यक्ष र दुई सिईओको व्यवस्था ल्याए सहज हुन्छ ।’
के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले बैंक तथा वित्तिय संस्थाहरुको संख्या, पुँजी, प्रविधि र परफरमेन्सका बारेमा अध्ययन गरिरहेको छ । सो अध्ययनको प्रारम्भिक निष्कर्शले पनि बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउनुपर्नेमा जोड दिएको छ । तर तत्काल पुँजी बढाउने वा फोर्स मर्जरमा पठाउने बाटो रोज्न नहुने निचोड अध्ययनले निकालेको छ ।
‘राष्ट्र बैंक अहिले नै पुँजी बढाउने वा फोर्स मर्जरको बाटोमा जाने मनस्थितिमा छैन्, बैंकहरु आफैं मर्जरमा जाने वातावरण केन्द्रिय बैंकले बनाउँछ’, राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सिंहदरबारसँग भने ।
ढकालका अनुसार चार पाँच वटा बैंकहरुले २० अर्ब भन्दा माथिको पुँजीसहित व्यवसाय गर्न थालेपछि अन्य बैंकहरु आफैं मर्जरका लागि पार्टनर खोज्न थाल्नेछन् । ‘पाँच वटा बैंकले २० अर्ब भन्दा बढि पुँजी बोकेर व्यवसाय थालेपछि साना बैंक आफैं मर्जरका लागि तातिन्छन् । राष्ट्र बैंकले मर्जरमा जाउ भन्नै पर्दैन, साना बैंकहरु अपरेसन, ब्याजदर, कस्ट अफ क्यापिटल, कस्ट अफ फन्डका कारणले साना बैंकका ग्राहक ठूलातर्फ आकर्षित भइहाल्छन्,’ ढकालले भने ।
राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई मर्जरका लागि प्रेरित गर्न आगामी मौद्रिक नीतिबाट केहि सहुलियत थपिदिन सक्ने संकेत पनि प्रवक्ता ढकालले गरे । ‘बजारमा हल्ला गरिएजस्तो पुँजी वृद्धि र मर्जरबारे राष्ट्र बैंकमा छलफल भएको छैन । बरु राष्ट्र बैंकले मर्जरमा जान चाहने संस्थाहरुलाई केहि सहुलियत दिन सक्छ,’ ढकालले भने ।
अर्थमन्त्रालयको सिग्नल पनि उस्तै
सुरुमा फोर्स मजर्रको मनस्थितिमा थिए, गभर्नर महाप्रसाद अधिकारी । समय सिमा तोकेरै पुँजी वृद्धि गरिदिने तर हकप्रदको बाटो रोज्न नदिएर फोर्स मर्जरमा पठाउने सोच बनाएका थिए । क्रस होल्डिङ रहेका बैंकहरुको नामै तोकेर मर्जरमा जान निर्देशन दिनेबारे पनि उनले आन्तरिक छलफल गरेका थिए ।
तर, अर्थमन्त्रालयको जिम्मेवारीमा विष्णु पौडेले आएपछि परिस्थिति बदलिएको श्रोत बताउँछ । ‘डा. खतिवडा अर्थमन्त्री हुँदासम्म एउटा परिस्थिति थियो, पौडेल आएपछि अलि फेरिएको छ, फोर्स मर्जरका बारेमा अर्थमन्त्रीको फरक धारणा आएपछि कोर्स करेक्सन भएको हो’, श्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस्