रसुवा । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवाको टिमुरेमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकारबीच १६ अक्टोवर, २०१४ मा सम्झौता तथा अर्थ मन्त्रालयसँग १० अप्रिल, २०१५ लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको उक्त सुक्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका-१ टिमुरेमा निर्माणाधिन सुक्खा बन्दरगाह निर्माणको लागि मिति २०७६ बैशाख २९ चीन सरकार र नेपाल सरकार वीच Implementations minutes मा हस्ताक्षर भएको थियो भने उक्त सुक्खा बन्दरगाह निर्माणको लागि मिति २०७९ फागुन २ गते पुरक सम्झौता भएको हो ।
आयोजनाको कुल लागत १२४ मिलियन आरएमवि रहेको छ । करार सम्झौता अनुसार आयोजनाको अवधि २०८२ जेठ २४ गतेसम्म रहेको छ । यस सुक्खा बन्दरगाह कूल ५० हजार ९०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । सुक्खा बन्दरगाह क्षेत्रमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेशन सेड, क्यान्टिन, प्रशासनिक भवन, ३०० सवारी साधन अट्ने पार्किङ्ग लगायतका भौतिक संरचनाहरुको निर्माण भइरहेको छ ।
हालसम्म सुक्खा बन्दरगाहको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । सो मध्ये भोटेकोशी खोला तर्फ र सडक तर्फको Retaining Wall को निर्माण कार्य सम्पन्न भैसकेको छ । सडक निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ । कार्गो गोदाम, लिटिगेशन गोदाम र इन्सपेक्सन सेडको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको ।
प्रशासनिक भवनको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको र हाल इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भैरहेको जानकारी समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले बताए ।
रसुवा सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य यही असार २०८२ सम्ममा सम्पन्न भइसक्ने र सुक्खा बन्दरगाह चीन सरकारबाट नेपाल सरकार मार्फत समितिलाई हस्तान्तरण भए पश्चात सञ्चालनमा ल्याइने व्यहोरा समेत कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्