काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरुसँग कुनैपनि खालको सम्झौता नगर्ने बताएका छन् । मन्त्री पाण्डेले काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र विचौलियाहरु बलशाली देखेको उल्लेख गर्दै उनीहरुसँग कुनैपनि सम्झौता नगरी अघि बढ्ने बताएका हुन् ।
मन्त्री पाण्डेले स्वार्थ समूहहरुकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । आफूले निष्ठाको राजनीति गरिरहेको र मन्त्रीको रुपमा कौडी पनि दुरुपयोग नगर्ने उनको भनाई थियो । उनले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरुसँग प्रतिवाद गर्दै अघि बढ्ने पनि बताए ।
मन्त्री पाण्डेले पहिले राजनीतिक व्यक्तिहरु शक्तिशाली भएको र अहिले स्वार्थ समूहहरु शक्तिशाली भएको बताउँदै ३/४ महिनाको कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरुले मलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको उल्लेख गरे ।
उनले भने, ‘म यो राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर म के कसम खान सक्छु भने कुनैपनि नाममा मैले मन्त्री भएर घुस खाएको सुन्नुपर्यो । अथवा घुस खाएको देख्नुपर्यो भने मेरो त्यहीबेला नाश होस भन्ने त्यो संकल्प म यो राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर म गर्न सक्छु । त्यो आत्माविश्वासका साथ म राजनीतिमा आएको छु । करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर केही विचौलियाका मतियारहरुले प्रचार गरेका छन् ।’
‘म देशको हितको निम्ति, राष्ट्रको हितको निम्ति, हाम्रो आफ्नो हितको निम्ति जस्तोसुकै कठोर कदम चाल्न, त्यस्ता मतियारहरुसँग लडन, भिडन, जस्तोसुकै प्रतिवाद गर्न पनि त्यो आत्मविश्वास पनि मसँग छ । म त्यो पनि यहाँहरुको बीचमा विश्वास दिलाउन चाहन्छु । म तीनधारा संस्कृत छात्राबासमा पढेको मानिस । मैले राजनीतिलाई सेवाको रुपमा बाहेक, राष्ट्रलाई योगदान दिने भुमिका बाहेक अन्य रुपमा बुझेको छैन’ उनले बताए ।
त्यस अवसरमा मन्त्री पाण्डेले राजनीतिमा सबै गलत हुन्छन् भन्ने सत्य नभएको पनि दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्