काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको आज स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीसहित उनी निर्माणस्थलमा पुगेका हुन् ।
निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए । त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए । काठमाडौंको सहरी तथा यातायात व्यवस्थापन गर्न महत्त्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिए । निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत रहेका थिए ।
वि.सं २०७८ फागुन १२ गतेदेखि निर्माण सुरु भएको उक्त फ्लाई ओभर आगामी पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । तीस मिटर स्पानको चार लेनको सो पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्