विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा यही मङ्सिरदेखि पठनपाठन सुरु हुनेगरी स्नातकतर्फ बिएए एलएलबी र स्नातकोत्तरतर्फ अपराधशास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ ।
स्नातकतर्फ नेपालमै पहिलोपटक बिबिए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए । ‘ँव्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमूना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौँ’ उनले भने ।
उपकुलपति पोखरेलका अनुसार बिबिए एलएलबीको कोर्ष पाँच वर्षको हुनेछ । विद्यार्थीहरूले ४ लाख ५० हजारमै यो कोर्ष अध्ययन गर्न पाउनेछन् । यो कोर्ष पढ्न चाहने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि गरिएको र त्यसमा महिला, दलित लगायतलाई ४५ सिटको कोटामध्येबाट दश प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
उपकुलपति डा. पोखरेलले भने, ‘बिबिए एलएलबी कोर्षमा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीहरू अनुसन्धान र सर्वे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरी खरिद प्रक्रियाबारे पनि विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।’
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले विदेशबाट समेत विज्ञ शिक्षकहरू ल्याएर अध्यापन गराइने बताउनुभयो । उहाँले अध्ययन गर्न चाहनेहरूले यही कात्तिक मसान्तभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्ने जानकारी दिए । कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स एन्ड इलेक्टिक इन्जिनियरिङमा स्नातक, वि–फर्मातर्फ स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाइ सुरु गरिसकेको छ ।
विसं २०७६ मा स्थापना भएको यस विश्वविद्यालयले १० वर्षभित्र तीनवटा स्कुलअन्तर्गत विभित्र २८ विषयमा विद्यावारिधी (पिएचडी) सम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्