काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (२०८१/८२) को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाको तयारी थालेको छ । पहिलो चरणमा कार्यकारी निर्देशकस्तरमा प्रारम्भिक छलफल भने भैसकेको छ । नेपाल बैंकर्स संघ लगायतका सम्वद्ध संघ संस्थाहरुबाट सुझाव सुझाव आउने क्रममा छन् ।
मंसिरको पहिलो साता भित्रै पहिलो त्रैमासिक समिक्षाको तयारीमा जुटेको राष्ट्र बैंकमाथि सेयर बजार मैत्री नीति ल्याउन चर्को दबाव छ । बजारमा अधिक तरलता भएको, बैंक तथा वित्तिय संस्थाहरुले लगानीका लागि ठाउँ नभेटेको अवस्थामा सेयर बजारलाई चलायमान बनाएर अर्थतन्त्रमा केहि सकारात्मक सुधार ल्याउन सकिने निष्कर्षसहित स्वयं प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री बिष्णु पौडेल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले राष्ट्र बैंक नेतृत्वमाथि दबाव बढाएका हुन् ।
‘अहिले बजारमा अधिक तरलता भएर राष्ट्र बैंकले नियमित रुपमा प्रशोचन गरिरहेको अवस्था छ, अर्थतन्त्रलाई चलायमान बनाउने अन्य क्षेत्रहरुका सुस्तताको अवस्था छ, सेयर बजार नै यस्तो क्षेत्र देखिएको छ जसले अर्थतन्त्रमा केहि सकारात्मक सन्देश लैजान सक्छ, मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत सेयर बजार मैत्री नीतिका लागि पहल भैरहेको छ’, उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।
स्रोतका अनुसार सेयर बजारलाई चलायमान बनाउने विषयमा गभर्नर महाप्रसाद अधिकारी पनि सकारात्मक छन् । बैंक तथा बित्तीय संस्थाहरुले कोर क्यापिटलको २० प्रतिशत पुजि बजारमा लगानी गर्न सक्छन् । तर त्यस्तो सेयर एक बर्षसम्म बेच्न नपाउने नियम छ । औसत जोखिम भार २ करोड माथीको ऋणमा १२५ प्रतिशत र सो भन्दा सानो ऋणमा १०० प्रतिशत छ । बैंकहरुकै भाषालाई सापटी लिने हो भने खराब कर्जामा सेयर धितो राखेर दिईएको ऋणको हिस्सा ज्यादै न्युन छ ।
‘बैंकहरुले दोश्रो बजारबाट सेयर किनेपछि एक बर्षसम्म बेच्न नपाउने व्यवस्थाले बैंकहरुको आम्दानी पनि घटाईरहेको छ भने सेयर बजारको स्थिरतामा पनि समस्या उत्पन्न गरेको छ । बजारमा कर्जाको माग छैन्, पुरानो कर्जाको रिकभरी पनि छैन्, हामी निक्षेपको ब्याज तिरेर बसिरहेका छौं, सेयर बेच्ने एक बर्षे नीति हटाउँदा बैंकहरुको वित्तिय स्वास्थ्यमा राम्रो प्रभाव पार्छ’, एक बाणिज्य बैंकका सीईओले सिंहदरबारसँग भने ।
नेपाल बैंकर्स संघले पनि बैंक तथा वित्तिय संस्थाहरुले दोश्रो बजारमा खरिद गरेको सेयर एक बर्षपछि मात्रै बेच्न पाइने नियम संसोधनका लागि के गर्न सकिन्छ भन्नेबारे आन्तरिक छलफल थालेको पनि ती बैंकरले जानकारी दिए ।
त्यसो त सेयर धितो कर्जाको औषत जोखिम भार घटाउन पनि लबिङ सुरु भएको छ । सेयर बजारका ठूला लगानीकर्ता र ब्रोकरहरुले अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्मलाई सेयर धितो कर्जाको औषत जोखिम भार घटाउन आग्रह गरिरहेका छन् ।
सरकार पनि सकारात्मक
सेयर बजार मैत्री अर्थमन्त्रीका रुपमा चिनिएका बिष्णु पौडेल र निजी क्षेत्रकै हित गर्ने भन्दै भाषण गरिरहेका प्रधानमन्त्री पनि सेयर बजारलाई चलायमान बनाउने बिषयमा सकारात्मक देखिएको उनीहरुसँग अनौपचारिक छलफल गरेकाहरुको दावी छ । त्यसो त पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा पनि अहिले भने सेयर बजारलाई कुनै न कुनै रुपले चलायमान बनाउनुपर्ने निचोडमा पुगेको बताउनेहरु पनि छन् । ‘अहिले अर्थतन्त्र चलायमान बनाउने एक मात्रै औजार भनेकै सेयर बजार हो । यसमा भाइब्रसन आउने वित्तिकै अन्य केहि क्षेत्रहरु स्वत: चलायमान हुन्छन्, हामीले अर्थमन्त्री, प्रधानमन्त्रीसम्म यो सन्देश पुर्याएका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ’, स्रोतले भन्यो ।
कुन बैंकले कति गरेका छन् सेयर धितो ऋणमा लगानी ?
चालु आव २०८१/८२ को २ महिनामा वाणिज्य बैंकहरुबाट ७२ अर्ब २४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । जुन साउन महिनाको तुलनामा ०.७६ प्रतिशत अर्थात् ५ करोड ५० लाख रुपैयाँले बढी हो । साउनमा सेयर धितो कर्जा प्रवाह ७१ अर्ब ६९ करोड रुपैयाँ भएको थियो ।
२ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । नबिलबाट १० अर्ब ५२ करोड ८१ लाख रुपैयाँ सेयर धितो कर्जा रहेको छ । सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने दोस्रोमा नेपाल बैंक रहेको छ । बैंकले २ महिनामा ७ अर्ब २९ करोड ८९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा सिद्धार्थ बैंक रहेको छ । बैंकले ७ अर्ब १६ करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ भने कुमारी बैंकले ६ अर्ब ६० करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने प्राइम बैंकले ५ अर्ब २७ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले सार्वजनीक गरेको सूचनामा उल्लेख छ ।
राष्ट्र वाणिज्य बैंकले ४ अर्ब ८ करोड ३४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह प्रदान गरेको छ । लक्ष्मी सनराइज बैंकबाट ३ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ, प्रभु बैंकबाट ३ अर्ब ९ करोड २० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्