Shikhar Insurance
National Life

टेलिकमको पाइपबाट पानी बगेपछि प्राविधिकहरु लागे मुहानको खोजीमा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १२:४०
Hyundai
NCELL
NIMB

चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दशैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ्याएको पाइपबाट पानी निस्किएको जानकारी दिइन् । सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उनले बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भनिन् ‘वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुनसक्छ । नत्र तार हाल्न विछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला ।’

टेलिकमको पाइपमा कहाँबाट पानी छिर्यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उनले जानकारी दिइन् । खनेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उनले बताइन् ।

नारायणगढदेखि गोन्द्राङसम्म छ लेनको सडक विस्तार भइरहेको छ । सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ । कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको जानकारी दिए । उनले भने ‘कहाँबाट पानी छि(यो, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ । सडक डिभिजनलाई भनेका छौँ ।’

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले  भनिन्  ‘हामीले दशैँ अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँं, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्