काठमाडौं । तिहार अगाडीको अन्तिम कारोबार भएको यो सातामा जम्मा ४ दिन सेयर बजार खुलेको छ । गत साताको जस्तै लगानीकर्ता हरुलाई रोलर कोस्टर राइड गराएको बजारले समग्रमा भने लगानीकर्ताहरुलाई फाइदा नै गराएको छ । गत साता ७८.२२ अंकले घटेको बजार यो साता भने ५०.२९ अंकले बढेर बन्द भएको छ । धनधान्यकी देवी माता लक्ष्मीको आरधना सुरु हुने समयमा सेयर बजारले लगानीकर्ता हरुको घरमा समेत लक्ष्मीको बास गराएको भन्न सकिन्छ ।
यो साता सोमबार र मंगलबार बजारमा हरियाली देखिएपनि साताको सुरु र अन्तिम कारोबार दिन भने बजार राताम्मै भएको छ । आइतबार देखि बुधबारसम्मा बजार २२ अर्ब १५ करोड ९५ लाख ४ हजार १ सय ४५.३३ रुपैयाँमा ४ करोड ६९ लाख ९६ हजार ४ सय ६३ कित्ता सेयर किनबेच भएको छ ।
यस्तो छ यो साताको सेयर बजार
साताको पहिलो कारोबार दिन अर्थात् कात्तिक ११ गते आइतबार सेयर बजार सामान्य अंकले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको थियो । आइतबार ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको सेयर मूल्य घटेको थियो भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, आइतबार ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो भने नेपाल एसबिआई बैंकको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको थियो ।
साताको दोस्रो कारोबार दिन अर्थात् कात्तिक १२ गते सोमबार सेयर बजार दोहोरो अंकले बढेको थियो । सो दिन नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा बन्द भएको थियो । सोमबार ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख ९१२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन २१३ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको थियो २ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, सो दिन २ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो भने पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ६.०२ प्रतिशतले घटेको थियो ।
साताको तेस्रो कारोबार दिन अर्थात कात्तिक १३ गते सेयर बजार दोहोरो अंकले बढेको थियो । नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ मा पुगेको थियो । मंगलबार ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार २२१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको थियो भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, सो दिन ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको थियो भने निफ्रा ऊर्जा ऋणपत्रको सेयर १.९५ प्रतिशतले घटेको थियो ।
साताको चौथो कारोबार दिन अर्थात आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । बुधबार ३०५ कम्पनीको कारोबार हुँदा १ करोड २० लाख ६९ हजार ८ सय ७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, बुधबार ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्