काठमाडौं । भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनसँगको सहकार्यमा ‘भूमि लोक उत्सव’ आयोजना गरेको छ । कम्पनीले जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यले सो उत्सव आयोजना गरेको हो ।
मधेश प्रदेशबाट झण्डै लोप हुन लागेका लोक सङ्गीत तथा बाजाहरुको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीत समेत समेटिएको थियो । यस विविधताले भरिपूर्ण कार्यक्रमले सबैखाले दर्शकहरुको मन जित्न सफल भएको थियो । भूमि महोत्सवको यस वर्षको संस्करणको मुख्य प्रायोजक एनसेल फाउन्डेसन रहेको थियो । व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत नेपाली कला र सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धन गर्न एनसेलले यो हातेमालो गरेको थियो ।
यस कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाल लोप हुने जोखिममा रहेका पमरिया, रसनचौकी र झरी–झरी नाचलगायतका प्रस्तुतिहरु समेटिएको थियो जसले गर्दा महोत्सवले दर्शकसँग कसिलो साइनो गाँस्न मात्रै सफल भएन बरु उनीहरुले गहिरो अपनत्व पनि महसुस गरे ।
राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारहरू सुशान्त घिमिरे र राग, झुमा लिम्बु, फ्याटकाउली, आशिष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुति गरेको यस कार्यक्रममा काठमाडौंका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच पनि प्रस्तुत गरेका थिए ।
‘सम्पूर्ण प्रायोजक तथा सहयोगी संघसंस्था एवं स्वयंसेवक साथीहरूको अमूल्य सहयोग बिना भूमि महोत्सव सम्भव हुने थिएन । त्यसका लागि म सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ भूमि लोक महोत्सवकी कार्यकारी निर्देशक चन्द्रेशा पाण्डेले भनिन् ।
भूमि फाउण्डेशनका अध्यक्ष रश्मि रञ्जन झाले जनकपुर सहरले यस कार्यक्रमप्रति देखाएको आत्मियता, स्वामित्वभाव र सहयोगले आउँदा वर्षहरुमा अझै धेरै उत्साहका साथ यस्ता कार्यक्रम आयोजना गर्ने हौसला बढाएको बताए । मधेशको समृद्ध साङ्गीतिक एवं सांस्कृतिक विरासतलाई संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित सुरुवात गरिएको यस लोक महोत्सवले जनकपुरका नागरिकका लागि एक मौलिक सांस्कृतिक अनुभव सिर्जना गर्न मद्दत पुर्याएको छ ।
‘यस भेगमा आयोजना हुने सर्वाधिक कार्यक्रमहरुमा भारत बाहेकका अन्य देशका पर्यटकहरुको उपस्थिति प्रायजसो न्यून नै रहने गरेको बेला यस भूमि लोक उत्सवमा यूरोप, अमेरिका, चीन लगायतका झन्डै १० देखि १२ देशका पर्यटकहरुको उत्साहजनक उपस्थिति देखिएको’, कार्यक्रम संयोजक सुमित मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस्