काठमाडौं । विद्युतिय सवारी साधन(इभी)मा थप ऋण लगानी गर्न बैंकरहरु हच्किएका छन् । इभीमा ८० प्रतिशतसम्म ऋण लगानी गरिरहेका बैंकरहरुले त्यस्तो लगानी सुरक्षाका विषयमा गहन आन्तरिक छलफल समेत गरेका छन् ।
हालसम्म बैंकहरुले इभीमा करिब ७० अर्ब रुपैयाँ हाराहारी ऋण लगानी गरिसकेको प्रारम्भिक अनुमान छ । बैंकहरुले ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गरेपछि नेपालमा इभीको बजार ह्वात्तै बढेको थियो । अहिले भने बैंकरहरु नै इभीमा यसअघि गरिएको लगानीको लेखाजोखा गर्ने अवस्थामा पुगेका हुन् ।
‘हामीले इभीमा हालसम्म गरेको ऋण लगानी र थप लगानीबारे छलफल थालेका छौं’, एक बैंकरले सिंहदरबारसँग भने । ‘इभीहरुको रिसेल भ्याल्यु’ नभएको, इभी गाडीहरु स्वयं ‘एक्सपेरिमेन्ट’ कै चरणमा रहेको र ब्याट्रीको आयुबारे संशय देखिएपछि बैंकरहरुले इभीमा गरिएको लगानीबारे ‘अलर्ट’ हुने निष्कर्ष निकालेका हुन् । नेपाल बैंकर्स संघले इभीमा गरिएको लगानीबारे औपचारिक छलफल हालसम्म गरेको छैन तर सीईओहरुले अनौपचारिक संवादहरुमा भने ‘अलर्ट’ हुनुपर्ने निष्कर्ष निकालिसकेको बताउन थालेका छन् ।
‘इभीको रिसेल भ्याल्युबारे अन्योल छ, ब्याट्रीको आयुबारे पनि अन्योल नै रहेछ, ब्याट्री फेर्नु पर्दा आधा मूल्य नै लाग्ने रहेछ’, एक बैंकरले भने । अझ कमर्सियल सेगमेन्टका इभी गाडीहरुको हकमा त झनै ठूलो समस्याको आंकलन गरिएको पनि ति बैंकरले बताए । कमर्सियल सेगमेन्टका इभी गाडीहरुको ब्याट्री दुई वर्षमा फेर्नुपर्ने अवस्था देखिएको र त्यतिबेला गाडीको मूल्यको करिब आधा लगानी थप्नुपर्ने र त्यसले इभीका ऋणीहरुको अवस्थामा ठूलो प्रभाव पार्ने पनि देखिएको बताइन्छ ।
बैंकहरुले इभीमा गर्ने फाइनान्सिङको सुरक्षाको विषयलाई लिएर सतर्क भएका हुन् । विद्युतीय गाडीमा २० प्रतिशत खरिदकर्ता र ८० प्रतिशत बैंक तथा वित्तिय संस्थाले व्यावस्थापन गर्ने भएपछि अहिले कार जिप माइक्रोको व्यापारमा उछाल आएको छ । इभीले देशभर व्यापार आक्रामक बनाएपछि बैंकहरुको लगानी सुरक्षित हुने/नहुने विषयमा छलफल सुरु भएको हो ।
इभीमा फाइनान्सको विषयलाई लिएर बैंकका सिइओहरु र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष एक चरणमा कुरा पनि भैसकेको एक बैंकका सिईओले बताए । ती सिईओले सिंहदरबारसँग भने, “इभीमा फाइनान्सिङको विषयलाई लिएर एक चरणमा छलफल भएको छ, तर यसमा अध्ययन नगरी अघि बढ्ने विषय होइन तर सर्तक हुने विषय हो ।”
कार जिपमा भन्दा कमर्शियल भेहिकलमा सतर्क हुने अवस्था रहेको ती सिइओको भनाई छ । पेट्रोलियम र डिजेल गाडीलाई पछि पार्दै इलेक्ट्रिक गाडी आयात बढेको छ । कम खर्च र सजिलो फाइनान्सिङले विद्युतिय गाडीको प्रयोगमा वृद्धि भएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को असोज महिनासम्म २ हजार ५ सय १८ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको असोज महिनासम्म सो इभी गाडी नेपाल भित्रिएको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा १७.९३ प्रतिशत अर्थात ३ सय ८३ वटाले बढी आयात भएको हो ।
असोज महिनामा १०१ किलोवाटदेखि २०० किलोवाटसम्म १ सय ५९ वटा भित्रिएका छन् । त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका इभी गाडी १ हजार ५ सय ८२ वटा र ५० किलोवाटका इभी गाडी ७ सय ७२ वटा नेपालमा आयात भएका छन् भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ३ वटा र ३०० किलोवाटदेखि माथिका इभी २ वटा नेपाल भित्रिएका छन् ।
यी गाडी खरिद गर्न नेपाली व्यवसायीहरुले असोज महिनासम्म विभिन्न देशमा ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ खर्च गरेका छन्, जसबाट सरकारले ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्