Shikhar Insurance
National Life

पर्यटकको नयाँ गन्तव्य सराङकोटको ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्ति, ४० करोड लगानी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १४, बुधबार १२:२५
Hyundai
NCELL
NIMB

पोखरा । हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौैैँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा–१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्तिले पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थप्न थालेको हो ।

अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन तथा सूर्योदय र सूर्यास्तको दृश्यमा रमाउने पर्यटकका लागि सराङकोट विशेष गन्तव्य हो । पछिल्ला दिनमा थपिएका पूर्वाधार र धार्मिक संरचनाले प्राकृतिक सौन्दर्यसँगै धार्मिक पर्यटकलाई लोभ्याएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले ५६ रोपनी जमिनमा उक्त पूर्वाधार बनाइएको हो । ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजनामा निर्माण भइरहेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोतका लागि विभिन्न समयमा पाँच महायज्ञ लगाएर ७ करोड आर्थिक स्रोत जुटाउन सफल भएको थियो । तीनै तहका सरकारको चार करोड ५० लाख लगानी यस क्षेत्रमा भएको छ । पोखरा महानगरले मात्र ३ करोड बढी सहयोग गरेको छ ।

व्यावसायिक प्रतिष्ठान, सङ्घसंस्था, स्थानीयको सहयोग उत्तिकै जारी रहेको छ । निर्माण भइरहेको गणेश मूर्तिका लागि निर्माण संयोजक रहेका अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले आर्थिक स्रोत जुटाएर निर्माणकार्य अगाडि बढाएका छन् । ७ करोडमा गणेश मूर्ति र सहस्रधारा निर्माणमा खर्च हुने अनुमान गरिएको छ ।

हालसम्म यहाँको पूर्वाधारमा २२ करोड बढी लगानी भइसकेको छ । मूर्तिको संरचना दक्षिण भारतीय कालिगढहरूद्वारा निर्माण गरिएको हो । उक्त क्षेत्रमा गणेश मूर्तिसँगै कैलाशेश्वर शिवमन्दिर, एक सय आठ शिवलिङ्ग, सहस्रधारा, भैरव मन्दिर, चण्डीमन्दिर, भीमकाली मन्दिर, धार्मिक सभाहल, ऐतिहासिक प्रवेशद्वार, व्यवस्थित शौचालय, एक भ्यूटावर रहेका छन् ।

जिसीका अनुसार सराङकोटको नामाकरण शाहवंशीय राजाले हतियार भण्डारण गर्ने ठाउँका रूपमा प्रयोग गरेको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित छ । यसैगरी तत्कालीन सेना र प्रहरीले त्यहाँ सराङ खेलको तालिम लिने भएकाले यस स्थानलाई सराङकोट भनिन थालियो ।समितिका सदस्य कृष्ण थापाले ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यस क्षेत्रका निर्माणाधीन पूर्वाधारले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘भूमेकाली मन्दिरको पौराणिक धार्मिक महत्त्वले यहाँ धेरै भक्तजनलाई आकर्षित गर्दै आएको छ, विशेषगरी पोखरा र आसपासका क्षेत्रबाट दर्शन गर्न भक्तजन आउँछन्, अहिले शिव र गणेश मन्दिरको निर्माणले हिन्दू धर्मावलम्बीका लागि थप आस्था र आकर्षण थप्नेछ ।’ पर्यटकीय आकर्षण सराङकोट पोखरा आउने पर्यटकको पहिलो रोजाइमा पर्ने उनले बताए ।

विभिन्न सङ्घसंस्थाको समन्वयमा कार्यान्वयन भएको यस परियोजनालाई ‘शिव पञ्चमुखी गणेशधाम’ भनेर नामकरण गरिनेछ, जसले धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा यस क्षेत्रलाई स्थापित गर्ने लक्ष्य राखेको छ । देशमा पहिलोपटक निर्माण भइरहेको पञ्चमुखी गणेश मूर्तिले धार्मिक पर्यटनमा नयाँ अवसर सृजना गर्दै पोखराको पर्यटनमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुहुन्छ सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु ।

‘प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र धार्मिक आस्थाको सङ्गमका रूपमा रहेको सराङकोट भारतलगायत अन्य देशका हिन्दू तीर्थयात्रीका लागि आकर्षक गन्तव्य हुनसक्छ’ अध्यक्ष माकाजुले भने । हिन्दू धर्ममा विशेषगरी पञ्चमुखी गणेशको दर्शनले विघ्नबाधा हटाई समृद्धि र सिद्धी प्राप्त हुने विश्वास रहेको र दक्षिण भारतीय पर्यटकबीच गणेश भगवान्को ठूलो आस्था भएकाले यसको प्रचारप्रसारमा पनि जोड दिनुपर्ने उनको सुझाव छ ।

यस क्षेत्रमा विस्तार भएका पूर्वाधारले पोखरा र सराङकोटका पर्यटन प्रवर्द्धनलाई सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुहुन्छ सराङकोट माउण्टेन लजका कार्यकारी निर्देशक एवं नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेल ।

‘सराङकोट आफैमा पर्यटकीय गन्तब्य हो, पछिल्लो समय शिव मन्दिर, गणेश मूर्ती लगायतकापुर्वाधारहरुले यहाँको पर्यटनलाई थप चलायमान बनाउने आशा गर्न सकिन्छ’ कार्यकारी निर्देशक पौडेलले भने ‘पर्यटनको प्रवर्द्घनले स्थानीय व्यवसायमा प्रभाव पार्ने र विशेषगरी होटल र होमस्टे व्यवसायको विस्तार गर्न पनि यसले थप अवसर सृजना गर्दछ ।’

उनले विकाससँगै आउने चुनौतीहरूका विषयमा पनि ध्यान दिन आग्रह गरे । ‘धार्मिक पर्यटकलाई आकर्षित गर्ने पूर्वाधारको दिगो व्यवस्थापन र संरक्षण हुनुपर्छ, वातावरणीय संरक्षण र व्यवस्थित यातायातमा पनि उत्तिकै ध्यान दिन जरुरी छ’ उनले बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक र आध्यात्मिक पूर्वाधारमार्फत पोखरालाई बहुआयामिक पर्यटन थलोका रूपमा विकास गर्न पहल भइरहेको बताए ।

‘हिमालय शृङ्खला, फेवाताल, र पोखरा उपत्यकाको अनुपम दृश्यले आकर्षित गर्ने यस क्षेत्रले पछिल्लो समय पञ्चमुखी गणेश मूर्ति, शिवमन्दिर र भ्यूटावरजस्ता संरचनाको विकाससँगै पर्यटकीय महत्त्व थप्दैछ’ उनले भने । उनले सराङकोटको प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक सांस्कृतिक धरोहरको संयोजनले दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘हिमालको मनोरम दृश्यसँगै धार्मिकस्थलहरूको दर्शनले पर्यटकलाई नयाँ अनुभव दिलाउने र पोखरामा उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्नेछ ।’

पर्यटकीय राजधानीका रूपमा परिचित पोखरामा नयाँ गन्तव्यको विकास अत्यावश्यक भएको उल्लेख गर्दै आचार्यले महानगरपालिकाले यस अभियानमा निरन्तर लगानी गरिरहेको जानकारी दिए । सराङकोट क्षेत्रमा मात्र महानगरले ३ करोडभन्दा बढी लगानी गरिसकेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्