Shikhar Insurance
National Life

पर्यटकीयस्थल हम्पालमा विद्युत जडान

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १७:३८
Hyundai
NCELL
NIMB

पर्वत । धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण गरिएको छ । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित जलजला गाउँपालिका–५ र ६ को सिमानामा रहेको यस क्षेत्रमा सोमबार विद्युत जडान गरिएको हो ।

जलजला र मोदी गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा विद्युत् जडान गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यले बत्ती बालेर विद्युतीकरणको शुभारम्भ गरेका हुन् । हम्पाल क्षेत्रको अन्य भागमा पनि विद्युतीकरण भइरहेको उनले बताए ।

समुद्री सतहदेखि तीनहजार तीन सय मिटरको उचाइमा अवस्थित कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवं प्राकृतिक रुपमा सुन्दर पर्यटकीयस्थलको रुपमा परिचित छ । पछिल्लो समय यहाँ पर्यटन पूर्वाधारसमेत निर्माण गर्न थालिएको छ । हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रुपमा पूर्वाधार निर्माण थालेका हुन् ।

पर्यटकका लागि आश्रयस्थल, भ्यूप्वाइन्ट, खानेपानी, शौचालय निर्माण र सडक स्तरोन्नति गरिएको हो । विद्युत सुविधा पुगेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने यहाँ होटल सञ्चालन गर्दै आएका टीकाबहादुर पुनले जानकारी दिए । ‘विद्युत नहुँदा पर्यटक बास बस्न मान्दैन थिए, अब हम्पालमै पर्यटकलाई बास राख्न सकिन्छ’, उनले भने ।

हम्पाल र जलजलालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न करिब रु एक अर्ब लागत अनुमानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले हम्पाल लेकमा भ्यूप्वाइन्ट, शौचालय, सन्त बस्ने कुटी निर्माण गरेको थियो । सङ्घ र प्रदेशबाट विनियोजित रु २०।२० लाखबाट उक्त पूर्वाधार निर्माण भएका हुन् ।

यसैगरी गत आवमा निर्माणधीन भवन बनाउन गाउँपालिकाबाट १४ लाख ५० हजार विनियोजन गरी भवनलाई पूर्णता दिइएको पालिकाका इन्जिनियर सुनिल बाँनियाले जानकारी दिए । यहाँबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्र मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ सम्मको भूगोल अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रमा नीरमसी, पाँचआग्लो सतुवालगायत बहुमूल्य जडीबुटीका साथै कालो मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षी पाइन्छ । लालीगुराँसको जङ्गल रहेको हम्पालमा ठूलो मैदान छ । सोही मैदान सम्याएर तलाउ बनाउने योजना गाउँपालिकाको छ । मोदी गाउँपालिकाले पनि यहाँ पदमार्ग र पर्यटकीय पूर्वाधार निर्माण थालेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्