६०/७० किलोका दुई यात्री, १३ किलोको ब्याग, ६६ हजार किलोमिटर गुडिसकेको स्कुटर अनि यात्रा गोसाईँकुण्डको । यो यात्रा आफैंमा रोमाञ्चक र अद्भुत प्रतिक्षाको थियो । अनि संयोग यस्तो थियो की असोज २५ गते १६१ किलोमिटर दुरी पार गरेर काठमाडौं–रौतहट यात्रा गरिएको थियो र २७ गते पुन: त्यति नै दुरी पार गरेर रौतहट–काठमाडौं हुँदै बनेपासम्मको यात्रा गरिएको थियो ।
असोज २८ गते बनेपाबाट फर्किएपछि केहि आराम गरियो र साँझ तयार भयो गोसाईँकुण्ड यात्राको योजना ।
अकस्मात तयार भएको योजनाका कारण न किनमेल गर्न पाइएको थियो, न अरु तयारी नै । थकानको त कुरा गर्नै परेन । फेरि पनि गोसाइँकुण्डको यात्रामा निस्कने भनेपछि छुट्टै उत्साह भने जागेकै थियो ।
असोज २९ गते बिहान ९:३० बजे आसपास नेपालटारबाट हाम्रो यात्रा आरम्भ हुन्छ रसुवाको धुन्चे तर्फ । झन्डै ९० किलोमिटरको यात्रा तय गरेर हामी ४ बजे धुन्चे पुग्यौं ।
पाँच सय रुपैयाँ शुल्क तिरेर धुञ्चे बजारदेखि दुई किलोमिटर माथि मामाभाञ्जा रेष्टुरेन्टमा स्कुटर पार्किङ गरियो । र सुरु भयो हाम्रो दुई नम्बर सवारीको यात्रा ।
स्थानीयहरुका लागि घट्टे खेला(खासमा त्रिशुली नदि)को झोलुंगो पुल पार गर्दै खेन्दि, खिम्दी हुँदै हामी दुई घण्टाको निरन्तर उकालो यात्रपछि साँझ ६ बजे पुग्यौं देउराली टप ।
रौतहट भन्दा केहि चिसो काठमाडौं अनि काठमाडौं भन्दा धुञ्चे र धुञ्चे भन्दा पनि चिसो देउराली टपमा हामीले प्रति व्यक्ति ७ सय रुपैयाँमा खाने बस्ने सुबिधाको उपयोग गर्यौं ।
बिहान ६ बज्नु अघि नै हामी आफ्ना पोका पन्तेरा बोकेर उकालो चढ्यौं । हामीलाई साँझ पर्नु अघि नै पुग्नु थियो गोसाइँकुण्ड, त्यसकारण बिलम्ब गर्ने कुनै छुट थिएन् । आफ्नो गन्तव्य तर्फ पाइला लम्क्याउँदै हामी धिम्सा कटेर चन्दनबारी पुग्यौं ।
दुग्ध विकास संस्थानको चिज फ्याक्ट्री हेर्दै हामीले कालो चिया पिउने निधो गर्यौं । चियाँसँगै चिरपरिचित कोकोनट बिस्कुटको स्वाद पनि लिईयो । चन्दनबारी बजारको बिचमा रहेको गुम्बा छेउछाउ केहि थान तस्बिर लिएर हामी पुन: उकालो चढ्यौं ।
चन्दनबारी आईपुग्दासम्म हामीले धुञ्चे–गोसाईकुण्ड १८ किलोमिटर दुरीको करिब आधा पार गरिसकेका थियौं । अब भने हिमाली जडिबुटीका गन्धहरुले श्वासप्रश्वासलाई केहि गह्रुंगो बनाउन थालिकसेको थियो ।
सुन्दरबस्ती अनि एक हिसाबले ट्रान्जिट पोइन्टका रुपमा स्थापित चन्दनबारीबारे सानो छँदा नेपाल टेलिभिजनमा प्रशारित डकुमेन्ट्रीको बयान सम्झँदै हामी अघि बढिरह्यौं ।
केहि घण्टाको अनवरत हिडाईपछि हामी चोलाङपाटी पुग्यौं । ३५८४ मिटर उचाईको चोलाङपाटीमा ‘लसुन सुप’को स्वाद चाखियो । जति उकालो चढ्यो, उति स्वादिलो लाग्ने खानपान । ३ सय रुपैयाँको एक कचौरा लसुन सुप पिएपछि फेरि यात्रा आरम्भ गरियो, किन की हामीलाई त्यस दिन जसै गरि पुग्नु थियो गोसाइँकुण्ड अर्थात कालकुठ बिषबाट महादेवले संसारलाई जोगाएको ठाउँ ।
चोलाङपाटीबाट पुन: आरम्भ भएको हाम्रो यात्रा करिब १ बजे बहुप्रतिक्षीत लौरीबिनामा पुग्यो । २०७२ को भूकम्पपछि नयाँ स्वरुपमा खडा भएको लौरीबिनाको कथा सुन्दै हामीले हिमालको दृश्यावलोकन गर्यौं । आँखालाई हिमालको शितलतासँग सेकाउँदै जिब्रोले मिठो खानाको स्वाद लियौं ।
१:३० बजे फेरि हाम्रो यात्रा आरम्भ भयो । अब भने हामीले छिचोल्नु थियो सर्वाधिक कठिन भनिएको लौरीबिना–बुद्ध मन्दिरको ठाडो उकालो । बाटोभरि यहि उकालो चढ्दाको कठिनाईका कथा सुन्दै हामी त्यहाँ पुगेका थियौं ।
ठाडो उकालो त्यसमा पनि स–साना ढुंगाले भरिएको बाटो । करिब २ घण्टाको अथक प्रयासपछि हामी पुग्यौं बुद्ध मन्दिर ।
लौरीबिनाबाटै हिमालसँग नजिकैबाट साक्षातकार गर्ने अवसर जुटिसकेको थियो, अब भने हामी हिमालकै आलिंगनमा पुगिसकेका थियौं ।
अब उकालो यात्रा करिब सकिएको थियो । तल त्रिशुलीको खोँच थियो । माथि अजंगको काला पत्थर अनि हामी थियौं कालापत्थरको मध्यभागमा खोपिएको सानो गोरेटोमा ।
शरद ऋतुको चिसो, तिर्थालु र सरसमान बोक्ने खच्चर, गहुँगोरो र मध्यमकदका हामी जस्तै थुप्रै मानिस र केहि अग्लो कद भएका गोरा मानिसहरुको निरन्तर आवतजावतका बिच हामी तेर्साे बाटो हुईकिँदै थियौं ।
हाम्रो दायाँ पट्टी त्रिशुली नदिको खोँच थियो भने बायाँ पट्टी अजंगको कालापत्थर जसमा लेउ टाँसिएर सुन झै टल्किँदै थिए । हाम्रा लागि ति लेउ टाँसिएका पत्थरहरु सुन भन्दा कम थिएनन् । पल्लो टाकुरालाई माथिबाट हिउँले सेतै पारेर ढाक्दै थियो र त्यो क्रमश: तल सर्दै थियो । त्यहि सेता टाकुरामा अस्ताउनै लागेको सुर्यका किरणले त्यसलाई सुनझै टल्काईरहेका थिए ।
निरन्तरको हिडाई, उकालो र उचाईसँगै थकित शरिर अनि पुलकित मन लिएर हाम्रो यात्रा गन्तव्य तर्फ लम्किरहथ्यो । अलिपर गोसाइँकुण्ड छेउका होटलका छाना र साना आकारका टहरा देखेपछि हाम्रो हर्षको सिमा रहेन् । तर नजिकै देखिएको त्यो ठाउँ पुग्न हामीले अझै २ घण्टा लामो संघर्ष गर्नु पर्यो ।
करिब ६ बजे हाम्रो गन्तव्य अर्थात गोसाईकुण्डको नमस्ते होटलमा पुग्यौं । बिहान मात्रै कुण्ड दर्शन गर्ने, महादेवको त्रिशुलले खोपेर बनेको त्रिुशली नदिको शिर हेर्ने निधो गर्यौं । समुन्द्री सतहबाट ४३८० मिटरको उचाईमा रात काट्नु चानचुने जोखिमको निर्णय पक्कै थिएन् । हामीलाई आफ्नो लक्ष्य पुरा गर्नु थियो र हामीले त्यसै गर्यौं । प्रति व्यक्ति १६ सय रुपैयाँले खाने र बस्ने व्यवस्था कुण्ड छेउछाउमा थियो ।
बिहान घामको किरण भन्दा अघि नै हामी पवित्र कुण्डको किनारमा पुगिसकेका थियौं । स्वर्ग मिथ्या हो, नेपाल सत्य हो भनेझै हामी स्वैर कल्पनाको स्वर्गमा पुगिसकेका थियौं । हाम्रा लागि त्यो स्वर्ग स्वैर कल्पना मात्रै नभएर सत्य थियो र हामी त्यहि स्वर्गमा डबुल्की मार्दै थियौं ।
धार्मिक विश्वास अनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकुठ बिष भगवान शिवले पिएको, त्यो बिषयलाई आफ्नो निलकण्ठमा राखेको अनि बिषको पिँडा सहन नसकेपछि हिमालमा पसेको । त्यसले पनि बिष पीँडा शान्त नभएपछि महादेवले आफ्नो त्रिशुलले हिमालको कालापत्थरमा हानेपछि निस्किएको जलबाट निर्माण भएको कुण्डमा डुबुल्की मार्दै पिँडा सहन गरेको कथा सुनेकै थियौं । हामीले भगवान शिवको त्रिशुलले खोपिएको ठाउँ हेर्यौं । त्यहिँबाट निरन्तर एकाग्रता पूर्वक कुण्ड नियाल्यौं ।
स्नान गर्यौं, पुजापाठ गर्यौं । त्यतिञ्जेल बिहानको ८:३० बजिसकेको थियो । हामीलाई सोही दिन धुञ्चे बजार झर्नु थियो । हामी आफ्नो सपनाको गन्तव्य गोसाइँकुण्डको यात्राबाट फर्कियौं । यात्राको साथि मधुसुदन आचार्य (भिनाजु ) र रबिना तिमल्सिना (दिदि) ।
प्रतिक्रिया दिनुहोस्