Shikhar Insurance
National Life

शक्तिशाली सरकारसँग आमने–सामने कुलमान, ‘ओली–देउवा आन्तरिक छलफलमा, बर्खास्त गर्ने तयारी’

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार ०९:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काँग्रेस–एमाले नेतृत्वको शक्तिशाली सरकार विरुद्ध ‘ओपन फायर’ खोलेका छन् । प्रधानमन्त्री केपी ओली र विभागिय मन्त्री दिपक खड्काको निर्देशन विरुद्ध जाँदै घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन महशुल विवादमा उद्योगीहरुको लाइन काटिदिएका छन् ।

कात्तिक ८ गतेसम्म महशुल तिर्न समय तोकिदिएका घिसिङले मध्यरातदेखि उद्योगहरुको विद्युत लाइन धमाधम काटेका छन् । ८ गते बिहिबार दिनभरको दौडादौड र रस्साकस्सीपछि घिसिङले मध्यरातदेखि उद्योगहरुको लाइन काटेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले तत्काल उद्योगहरुको लाइन नकाट्नु भन्ने स्पष्ट सन्देश घिसिङलाई पठाएको थियो । बिहिबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा पनि प्राधिकरणको अध्यक्ष समेत रहेका उर्जा मन्त्री दिपक खड्काले अहिले नै उद्योगहरुको लाइन नकाट्न निर्देशन दिएका थिए । तर घिसिङ भने सञ्चालक समितिको बैठकबाट लाइन नकाट्ने निर्णय गर्नुपर्ने अडानमा बसे ।

बिहानको बोर्ड बैठकले ठोस निर्णय गर्न नसकेपछि साँझ मन्त्रिपरिषद बैठक बस्नु अघि मन्त्री खड्काले पुन: घिसिङसँग छलफल गरेका थिए । तर घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको महशुल छुट सम्बन्धी निर्णय मन्त्रिपरिषदबाट गरेर आउन चुनौती दिएको स्रोत बताउँछ ।

बिहिबार साँझको मन्त्रिपरिषद बैठकमा उर्जा मन्त्री खड्काले घिसिङले शक्तिशाली सरकारसँग सिधै निहुँ खोजेको ब्रिफिङ गरेको स्रोत बताउँछ । प्रमुख प्रतिपक्षी नेकपा(माओवादी)को पार्टी र पपुलारिटीको आडमा घिसिङले सरकारलाई असफल बनाउन खोजेकोबारे पनि मन्त्रिपरिषदमा छलफल भएको थियो । ‘कुलमान घिसिङले प्रतिपक्षीको एजेण्डा अनुसार सरकारलाई असफल पार्ने गरि काम गरिहरनु भएको छ, दुई ठूला दल मिलेर बनेको सरकारलाई असफल पार्ने दुश्प्रयासले काम गर्दैन् ।’, उच्च स्रोतले भन्यो ।

अर्थतन्त्र सुधारका लागि अथक मेहनत गरिरहेको सरकारलाई असफल बनाउन घिसिङले उद्योगहरुको लाइन काटेर सरकार–निजी क्षेत्रको सम्बन्ध बिगार्न भूमिका खेलिरहेको निष्कर्षमा गठबन्धनका नेताहरु पुगेका छन् । केहि समय अघिसम्म अहिले नै कुलमान घिसिङलाई हटाउन नहुने अडानमा रहेका काँग्रेस सभापति शेर बहादुर देउवा पनि अब भने अति भयो भन्ने निचोडमा पुगेको स्रोतहरुको दावी छ ।

‘सरकार मातहतको एउटा निकायको एक कर्मचारीले सिँगो सरकारलाई चुनौती दिनुले नागरिकमा ठिक सन्देश गएन्, घिसिङको नियत नै सरकारलाई असहयोग गर्नु हो भन्ने देखियो ।’, सरकार निकट उच्च स्रोतले भन्यो ।

तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा हाल्दैन भन्ने निष्कर्षमा रहेका घिसिङलाई अब अन्य कुनै विकल्प प्रयोग गरेर हटाउने तयारीमा सरकार जुटेको स्रोत बताउँछ । ‘अब त अति भयो भन्ने निष्कर्ष देखिन्छ ।’, स्रोतले अघि भन्यो–‘अब घिसिङमाथि सरकारले ठोस कदम चाल्छ होला ।’

प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेर बहादुर देउवाले कुलमान घिसिङबारे आन्तरिक छलफल थालेका छन् । आन्तरिक छलफलपछि ओली र देउवाबीच आजै भेट हुने सम्भावना रहेको स्रोत बताउँछ । ओली–देउवाबीचको भेटपछि सरकारले कुलमानबारे आवश्यक कदम चाल्ने बताइन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्