पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६.८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७ हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।
चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।
चालु आवको भदौ मसान्तसम्ममा २ अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए ।
आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित) को पार्टपूर्जाहरु आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस्