काठमाडौं । ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।
दशैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ । उनले भने ‘दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ ।’
पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ । यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ ।
दशैँमा किनमेलका लागि न्युरोडमा भेटीएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्त्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले दशैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गरेकी छिन् । ‘आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ’, उनले भनिन् ।
ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यस पाली मुल घर सर्लाही नजाने बताए । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए । ‘काठमाडौंमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दशैँ मनाउने सोचमा छौं’, उनले भने ‘किनमेल पनि भर्खरै सुुरु हुँदैछ ।’ उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए । पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन मनपर्ने सुनाए ।
काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दशैंमा किनमेलमा खासै जोड नदिएको बताए । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दशैँ टार्ने योजना रहेको सुनाए । गाँउ बाढीका कारण तहसनहस भएपछि उहाँलाई यसपालीको दशैँ मनाउने जाँगर चलेको छैन । दशैँ पनि काठमाडौंमै मनाउने योजना रहेको सुनाइन् । ‘आफन्ती सबै दु:खमा छन्, दसैँ मनाउनु कसरी ?’ उनले भनिन् ।
भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको जानकारी दिए । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ । ‘मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन’, उउनले भने ।
प्रतिक्रिया दिनुहोस्