काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ । मंगलबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका हुन् ।
उनले नेपाली काँग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति दु:ख व्यक्त गरेको बताए । उनले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले अहिले पनि मानिसहरु उद्धारको प्रतिक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताए । उनले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग,सडक,पुलहरु भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको जानकारी दिए ।
उनले दशैँ—तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताए । उनले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी,विद्यालय,विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताए ।
उनले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे । उनले हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको बताए ।
उनले विपद् व्यवस्थापनको लागि नेपाली काँग्रेसका (प्रतिनिधि सभा र राष्ट्रिय सभाका) सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय संसदीय दलले पास गरेको बताए ।
उनले इजरायल र लेवनान युद्धमा नेपालीहरुको जोखिमको अवस्थाका रहेको भन्दै नेपालीहरुको सुरक्षा र नेपाल आउनेहरुलाई सुरक्षित रुपमा ल्याउन सरकारसँग माग गरेको जानकारी दिए । उनले बाढी पहिरो,डुबान तथा नदी कटानको कारण खेती बालीमा भएको नोक्शानीमा सरकारले किसानलाई राहतको व्यवस्था गर्न माग गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्