बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्दै आएकी छिन् । एक सय ३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक १४ लाख नाफा हुने गरेको बताएकी हुन् ।
एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले जानकारी दिइन् । उनले बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा पसरचित छिन। नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताइन् ।
उनले घरमा मह प्रशोधनका उपकरणसमेत राख्एको छिन् । श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राखीन् । महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उनले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन’, नन्दकलाले भनिन् ‘प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ ।’ उनले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाइन् । फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उनले जानकारी दिइन् ।
एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताइन् । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ । ‘समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ’ नन्दकलाले भनिन् ‘नश्ल सुधारिएको रानीमौरीको मूल्य ५ । ६ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।’ जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले जानकारी दिइन् ।
एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमश: ६ सय, ७ सय र ८ सयपर्ने जानकारी दिइन् । मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ । सात वर्षअघि ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई सुरु गरेकी नन्दकलाले अहिले करिब २० लाखको मह बिक्री गर्ने गरेको बताइन् । सबै खर्च कटाएर वार्षिक १४ नाफा हुने गरेको उनले जानकारी दिइन् ।
महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाइन् । ‘काठमाडौं, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ । हालसम्म कोहलपुर र नेपालगञ्जको माग पुर्याउन नै सकिएको छैन’ उनले भनिन् । नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताइन् । स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उहाँले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्