Shikhar Insurance
National Life

काठमाडौँ सहित देशभर वर्षाले जनजिवन प्रभावित,  मुख्य सडकहरुमा ठूलो क्षति

सिंहदरबार संवाददाता
२०८१ आश्विन १२, शनिबार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । निरन्तरको वर्षाले देशभरको जनजिवन प्रभावित बनेको छ । काठमाडौं सहित देशभर जनजिवन प्रभावित बनेको हो ।

लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । काठमाडौंको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिराका कारण विभिन्न नाका हुँदै काठमाडौँ भित्रने र बाहिरने सवारीसाधन पनि चल्न सकेका छैनन् । नागढुङ्गा–नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली–तीनपिप्ले र कान्ति लोकपथ अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारीसाधन पनि रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले जानकारी दिए । यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उहाँले बताउनुभयो । यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।

तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरी रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा पर्ने सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा जलसतह बढेको र चन्द्रकोट गाउँपालिका–८ को मजुवा बजार नजिकै बाघ खोलामा सडकमाथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडकसमेत अवरुद्ध बनेको हो ।

साथै कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटमा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पूर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । हाल सडक सञ्चालनका लागि पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध

मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । आज बिहान ३:३० बजे सडकमाथिबाट ढुङ्गाको पर्खाल झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।

ढुङ्गाको पर्खाल झरेपछि गाडी चलाउन नसकिने अवस्था रहेको उनले बताए । सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापा जाने सवारीसाधन र यात्रु प्रभावित बनेका छन् ।

पहिरोको जोखिम भएपछि प्रशासनले गएराति १० बजेदेखि आज बिहान ३ बजेसम्म सो सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । त्यसैगरी इलाम–दानाबारी सडकखण्डअन्तर्गत इलाम नगरपालिका–१० स्थित राजदुवालीमा माईखोलाले सडक कटान गरेपछि सो सडक अवरुद्ध भएको छ ।

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक बसन्त पौडेलले जानकारी दिए ।

‘‘पहिरोले सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको हो, उहाँले भन्नुभयो, ‘‘अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ ।’’

तत्कालका लागि दुई तर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहेका पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारीसाधन बीचमै रोकिएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्