काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो ७ औं वार्षिकोत्सवको अवसरमा सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस बीमा अन्तर्गत बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशत सम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ ।
यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले भन्यो, ‘सनलाइफ मेडिकेयरु आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको हो । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।’
कम्पनीले वार्षिकोत्सवको अवसरमा सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देशहरु रहेका छन् ।
आठौं वर्ष प्रवेशसँगै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन (इन्फरमेसन सेक्युरिटी म्यानेजमेट) सँग सम्बन्धित आईएसओ २७००१ संपरिक्षण भएको र आगामी दिनमा कम्पनीलाई स्तरीकरण गर्न उक्त व्यवस्था लागु गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सत्कर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
यसै अवसरमा कम्पनीले महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौं लगायत विभिन्न सहरमा प्रभातफेरि कार्यक्रम पनि सम्पन्न गरेको छ ।
प्रतिक्रिया दिनुहोस्