Shikhar Insurance
National Life

नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै, ३० देशका व्यवसायीहरुको सहभागिता रहने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा ३ किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरुको सहभागिता रहने लक्ष्य रहेको छ । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

‘पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास, थप आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो, यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ’ अध्यक्ष बाडेले भने ।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिवद्धता व्यक्त गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दैै खुसी व्यक्त गरे ।

उनले भने, ‘एअर स्पोर्टस् एड्भेञ्चर सबै पोखराबाटै सुरु भएका छन् । हामीले जुनसुकै क्षेत्रमा आबद्ध भएर काम गरेपनि ती सबै राष्ट्रिय हितकै लागि भएका छन् । तसर्थ पोखरामा आयोजना हुन लागेको ‘इन्टरनेसनल बलुन फेस्टिभल’ले पनि नेपालको समग्र पर्यटन प्रवर्द्धन नै टेवा पुर्‍याउनेछ ।’

विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता सुरु भएको थियो । प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब ५०० वटा हट एयर बलुनले उडान गर्छन् ।

आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन विहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब तीन सयवटा गैर व्यावसायिक उडान हुनेछन् ।

फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ । फेस्टिभल आयोजना गर्नका लागि ६ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

हट एयर बलुनमा सामान्यतया: ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुछ्रे र धौलागिरीलगायतका हिमश्रंखलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्