Shikhar Insurance
National Life

आन्तरिक राजस्व विभागले भदौ महिनामा उठायो ३२ अर्ब ४२ करोड राजस्व, पाेहोर भन्दा साढे २२ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार ०८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले राजस्व संकलनमा उल्लेखनिय सुधार गरेको छ । विभागले गत आर्थिक वर्षको तुलनामा उल्लेखनिय सुधार गरेको हो ।

भदौ महिनामा विभागले ३२ अर्ब ४२ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो आर्थिक वर्ष २०८०/०८१ को भदौ महिनाको तुलनामा २२.६२ प्रतिशतले बढि हो । गतवर्षको भदौमा २६ अर्ब ४४ करोड ४१ लाख मात्रै राजस्व संकलन भएको थियो । चालु वर्षको भदौ महिनामा विभागले ३७ अर्ब १४ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लक्ष्यको तुलनामा विभागले ८७.२९ प्रतिशत राजस्व संकलन गरेको छ । भदौ महिनामा विभागले आयकर शिर्षकमा ११ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ । यो शिर्षकमा १५ अर्ब १७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।  मूल्य अभिवृद्धि कर आन्तरिक तर्फ ९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ संकलन भएको छ । भ्याट शिर्षकमा भदौ महिनामा १० अर्ब ९१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

यस्तै, अन्तशुल्क शिर्षकमा ८ अर्ब ५१ करोड २९ लाख संकलन भएको छ । यो पटक अन्तशुल्क शिर्षकमा लक्ष्यको ९५.३० प्रतिशत राजस्व संकलन भएको छ । अन्तशुल्क शिर्कषमा ८ अर्ब ९३ करोड राजस्व संकलनको लक्ष्य लिएको थियो । नक्कली अन्तशुल्कको प्रयोगलाई विभागले कडाईका साथ अनुगमन गर्न थालेपछि अन्तशुल्क शिर्षकमा राजस्व पनि वृद्धि भएको हो ।

यसैगरी, बहाल कर १४ करोड १२ लाख, ब्याजकर ९५ करोड ६८ लाख संकलन भएको छ । स्वास्थ्य शिर्षकमा ४८ करोड ९९ लाख राजस्व संकलन भएकोमा शिक्षा शिर्षकमा ३८ करोड ९ लाख राजस्व संकलन गरेको छ ।

चालु वर्षको पहिलो २ महिनामा विभागले ७७ अर्ब ७३ करोड ९२ लाख राजस्व संकलन गरेको छ । यो पोहोरको २ महिनाको तुलनामा १५.१५ प्रतिशतले बढि हो । पोहोर यो अवधिमा ६७ अर्ब ५० करोड राजस्व संकलन भएको थियो । पछिल्ला वर्षहरुमा अघिल्ला वर्षहरुको तुलनामा धेरै राजस्व वृद्धि हुन सकेको छ । चालु वर्षको २ महिनामा १५.१५ प्रतिशतले राजस्व संकलन वृद्धि हुनु सकारात्मक पक्ष हो ।

यद्यपी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोहोरको तुलनामा प्रगति भन्दापनि लक्ष्यलाई आधार मानेर काम गर्न विभागिय प्रमुखहरुलाई निर्देशन दिइसकेका छन् । मन्त्री पौडेलले राजस्व संकलनको अवस्थालाई हेरेर मात्रै राजस्व प्रशासनमा काम गर्ने व्यक्तिहरुको मूल्यांकन हुने बताइसकेका छन् । अहिले आन्तरिक राजस्व विभाग महानिर्देशकमा रामप्रसाद आचार्य छन् ।

निजामति सेवामा कर अधिकृतका रुपमा प्रवेश गरेका आचार्य राजस्व अनुसन्धान विभागको महानिर्देशक समेत भैसकेका छन् । महानिर्देशक आचार्यलाई राजस्व वृद्धिदरको लयलाई कायम राखिराख्न चुनौति रहेको छ ।

स्रोत:आन्तरिक राजस्व विभाग

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्