काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले चीनसँग सम्झौता गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्न ढिलाई गर्न नहुने बताएका छन् ।
काठमाडौंमा बीआरआई परियोजना कार्यान्वयनसम्बन्धि दुई मुलुकका अधिकारीहरुबीचको छलफल कार्यक्रममा बोल्दै (बीआरआई) परियोजना कार्यान्वयनको आवश्यकता औंल्याएका हुन् ।
पूर्वअध्यक्ष तिमिल्सिनाले सो परियोजनाबाट नेपालले लाभ लिनेमा शंका नगर्न आग्रह समेत गरे । उनले सो परियोजनाबारे जनतामा विद्यमान भ्रमलाई चीर्नका लागि त्यसबाट नेपालले पाउने लाभबारे जनस्तरमा नै व्यापक छलफल चलाउनुपर्ने जरुरी रहेको बताए ।
बीआरआई परियोजनाका कारण श्रीलंकामा समस्या आएको भन्ने कुरा सत्य नभएको पनि पूर्वअध्यक्ष तिमिल्सिनाले स्पष्ट पारे । उनले नेपालले भारत, चीन वा कुनैपनि तेस्रो मुलुकबाट जनताको हित हुनेगरी लाभ लिने कुरामा पछि पर्न नहुने बताए ।
पूर्वअध्यक्ष तिमिल्सिनाले पर्यटकहरुलाई नेपालमा प्रशस्त मात्रामा भित्र्याउनका लागि सरकारले सोही अनुसारको पूर्वाधार विकासमा जोड दिनुपर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्