काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषय अनावश्यक रुपमा उचालिएको टिप्पणी गरेका छन् ।
संसदमा प्रस्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएकोको विषय आफूले बुझ्न नसकेको पनि प्रधानमन्त्री ओलीको भनाई थियो ।
उपसभामुख इन्दिर रानालाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की नै भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषय सोमवारको प्रतिनिधि सभा बैठकमा उल्लेख गर्दै प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनि प्रश्न समेत गरे ।
कहि कसैले बाहिर भनेको विषयलाई लिएर संसदमा गालीगलौजको शैलीमा प्रस्तुत हुने कुरा शोभनीय नभएको भन्दै प्रधानमन्त्री ओलीले बोली र व्यबहारमा आँच आउने खालका काम नगर्न पनि सांसदहरुलाई आग्रह गरे ।
उनले भने, ‘उठदै नउठेका कुराहरुमा, प्रस्तावै नआएका कुराहरुमा छलफल कसरी चलेको हो ? प्रस्ताव पनि आएको छैन । उठाननै नगरेका विषयमा उत्पातै भयो त । म त हेरिराखेको थिए । के भएको होला ? ।’
‘आफ्नो शिष्टताको, सभ्यताको, मर्यादाको प्रतिविम्व सांसदहरुबाट आयो भन्ने ठान्नुपर्ला नि । अभिव्यक्तिमा त्यो आयो भन्ने ठान्नुपर्ला । त्यसोभएर म अहिले त्यता धेरै नजाउँ’ उनले बताए । प्रधानमन्त्री ओलीले सांसदहरुका सामाजिक क्रियाकलापको प्रभाव समाजमा पर्ने भएकाले ख्याल गरेर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्