काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताएका छन् ।
सोमबार समितिको ६६ औं बैठक सम्पन्न गरी सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताएका हुन् ।
उनले समितिमा सबै राजनीतिक दलहरुबाट प्रतिनिधित्व भएको तर पनि सहकारीका वर्तमान समस्यालाई पहिलो प्राथमिकता राखेर प्रतिवेदन सर्वसहमतिले पास गरेको दाबी गरे । उनले समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सबैले हस्ताक्षर गरेर प्रतिनिधि सभामा पेश गर्न लागेको बताए ।
उनले ६६ वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाएर प्रतिवेदन तयार पारिएको पनि उल्लेख गरे । उनले समितिको प्रतिवेदनले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको पनि उल्लेख गरे ।
उनले भने, ‘सात सदस्य समितिमा विभिन्न पार्टीका प्रतिनिधि थियौं । तर सहकारी समस्यालाई समितिले कुनै पार्टी भन्दा माथि उठेर विकराल राष्ट्रिय समस्याका रुपमा लिएका छौं । त्यसरुपमा गम्भिरतापूर्णक आत्मसाथ गरेका छौं । समितिले दिएको प्रतिवेदन दोषीलाई कारबाहीको भागिदार बनाउन सिफारिस गरेका छौं ।’
समितिको प्रतिवेदनमा सबै सदस्यहरुले हस्ताक्षर गरेका छन् । केही समय भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । तर सबैको सहमति अनुसार हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्