काठमाडौं । कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको हो ।
आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनित कुमार झा ले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन् ।
१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रबर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ ।
आयोजनामा ग्लोवल आइ एम इ, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंक समेत सहभागी हुनेछन् । अन्नपुर्ण विद्युत विकास प्रालिद्धारा प्रबद्र्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्दछ ।
जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्र्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । उक्त आयोजनाको हेडवक्स देखि विद्युत गृहसम्मको बास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै हो ।
नेपाल विद्युत प्राधिकरणसँग यस अघिनै विद्युत खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी कात्र्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रबर्धक कम्पनी अन्नपुर्ण विद्युत विकासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्